March 9, 2025, Sunday
२५ फाल्गुन २०८१, आईतवार

नगद सहित सहायक वन अधिकृत अख्तियारको नियन्त्रणमा

डोटी साउन २६(ई-रैवार):  नगद सहित एकजना सहायक वन अधिकृतलाई अख्तियारको टोलीले समातेको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट सब–डिभिजन कार्यालय बीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आईतबार साँझ अख्तियारको टोलीले समातेको छ ।
काम गरिदिएबाफत उपभोक्ताबाट रकम लिएको उजुरीका आधार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट टोली खटिएको प्रमुख शिव कार्कीले जानकारी दिए । उनले घटनाको पूर्ण विबरण भने खुलाउन चाहेनन् । ‘सूचना यही हो । टोली छानविनका क्रममा छ,’ उनले भने,‘छानविनपछि मात्रै पुरा खबर भन्न सकिन्छ ।’
स्रोतका अनुसार डिएसपीको नेतृत्वमा गएको टोलीले तीनलाख भन्दा बढी नगद सहित सहायक बन अधिकृत डिसीलाई समातेको छ । उनीसंगै रहेका जोरायल गाउँपालिका–१ का किरण मल्लले सो रकम आफ्नो भएको दाबी गरिरहेका छन् । ‘उहाँ(सहायक वन अधिकृत डिसी)लाई फसाउन यस्तो गरिएको हो,’ मल्लले भने,‘त्यो रकम मेरो हो । कसैले उहाँलाई दिएको होईन् ।’
सहायक वन अधिकृत डिसी लगातार बिबादमा आईरहने नाम हो । बिगतमा भएका वन फडानीका मुद्दामा पनि उनको नाम आउने गरेको थियो । उपभोक्तासंग काम गरिदिएबाफत रकम अशुल्ने गरेको सूचना पटकपटक आउने गरेका थिए । यद्यपी त्यो खबर पुष्टी हुने गरेको थिएन् ।