चिनियाँ राष्ट्रपति सीसँगको भेटमा प्रधानमन्त्री ओलीले उठाए लिपुलेकको मुद्दा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबीच शनिबार तियानजिनमा द्विपक्षीय भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटमा सीसँगको उक्त भेटमा ओलीले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको मुहान पूर्वका सबै भूभाग सार्वभौम मुलुक नेपालको रहेको स्पष्ट पारेको उल्लेख छ । ‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले स्पष्ट रूपमा आपत्ति रहेको कुरा राख्नु भएको छ,’ परराष्ट्र सचिव अमृत राईलाई उद्धृत गरिएको प्रेस नोटमा भनिएको छ, ‘यस मामिलामा चीनले सहयोग गर्नेछ भन्ने विश्वास नेपालले लिएको छ ।’सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली पूर्वका सबै भूभाग सार्वभौम मुलुक नेपालको रहेको स्पष्ट छ : प्रधानम्त्री ओली
राष्ट्रपति सीले नेपालको दाबीमा चीनले कुनै दक्खल नदिने बताएको राईले उल्लेख गरेका छन् । परम्परागत रूपमा त्यो नाका प्रयोग भएको हो भन्दै राष्ट्रपति सीले नेपाल– भारत बीचको सीमा विवादमा चीन कुनै पक्ष बन्न नचाहेको जनाएको नोटमा उल्लेख छ । सीको प्रतिउत्तर भन्दै नोटमा राईले लेखेका छन्, ‘सीमा विवाद तपाईँहरू दुई पक्षले समाधान गर्ने विषय हो, नेपालको दाबीमा हाम्रो तर्फबाट कुनै कमी हुँदैन । त्यसलाई कमजोर गर्न कुनै सम्झौता गरिएको होइन, त्यसलाई बुझिदिनु होला ।’
चीनस्थित नेपाली दूतावासद्वारा जारी वक्तव्यमा पनि राष्ट्रपति सीसँगको भेटमा प्रधानमन्त्री ओलीले लिपुलेक नेपाली भूमि भएको उल्लेख गर्दै भारत–चीनबीच भएको सहमतिप्रति नेपाल सरकारको कडा आपत्ति रहेको जनाएको उल्लेख छ ।
चीन र भारतले ३ भदौमा लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने सहमति गरेका थिए । लिपुलेक नेपालको पश्चिमी सिमाना लिम्पियाधुराबाट ५६ किमियताको भूमि हो । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भएको उक्त सहमतिलाई लिएर नेपालमा तीव्र विरोध भइरहेको छ । उक्त मुद्दालाई भारत र चीन दुवैसमक्ष स्पष्ट तथा बलियो ढंगले राख्न प्रधानमन्त्री ओलीमाथि घरेलु दबाब छ । आफ्नो चीन भ्रमणबारे जानकारी दिँदै शनिबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणमा नेपालको हित र प्रतिष्ठाको विषय सम्बोधन हुने बताएका थिए ।
तस्बिर : ह्वाङ जिङ्वेन/सिन्ह्वा,रासस
तियानजिन सहरमा आइतबार र सोमबार हुने सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा सहभागी हुन चिनियाँ राष्ट्रपतिको निमन्त्रणमा प्रधानमन्त्री ओली शनिबार चीन गएका हुन् । तियानजिनमा ओर्लिएको केही बेरमै प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेपाली टोली र सीले नेतृत्व गरेको चिनियाँ टोलीबीच करिब आधा घण्टा वार्ता भएको थियो ।
प्रधानमन्त्रीको निजी सचिवालयले दिएको जानकारीअनुसार तियानजिनको अतिथि गृहमा भएको द्विपक्षीय भेटवार्तामा दुई देशबीच मित्रवत् सम्बन्ध र सहकार्यका विविध विषयमा कुराकानी भएको छ । दुई नेताबीचको भेटमा सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ । अघिल्लो भ्रमणका बेला भएको बीआरआई फ्रेमवर्क सम्झौतालाई कार्यान्वयनमा लैजाने विषयमा पनि दुवै पक्षले जोड दिएका छन् । गत वर्ष प्रधानमन्त्री भएयता ओलीले उत्तरी छिमेकी चीनका राष्ट्रपतिसँग दोस्रो पटक द्विपक्षीय भेटवार्ता गरेका हुन् । गत वर्ष १७–२० मंसिरमा ओलीले चीनको औपचारिक भ्रमण गरेका थिए ।
दूतावासको विज्ञप्तिअनुसार भेटमा नेपाल–चीनका सम्बन्धका विभिन्न पक्षबारे छलफल गर्दै आपसी लाभदायक सहकार्यलाई आगामी दिनमा अझ अगाडि बढाउने दृढता दुवै पक्षबाट भएका छन् । नेपालको विकासमा चीनले पुर्याएको निरन्तरको सहयोगप्रति प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गरेको वक्तव्यमा उल्लेख छ । नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित भई अहिलेसम्म समस्यारहित रहेको प्रधानमन्त्रीले बताएका थिए । प्रधानमन्त्री ओलीले नेपाललाई एससीओको सदस्यता दिलाउन चीनका राष्ट्रपतिबाट समर्थनको समेत आग्रह गरेका छन् । पहिले नै सहमति भइसकेका परियोजनालाई छिटो कार्यान्वयन गर्ने विषयमा जोड दिँदै प्रधानमन्त्री ओलीले बीआरआईअन्तर्गत मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु सहनशीलता र जनस्तरमै मित्रता विस्तारका क्षेत्रमा सहयोगको आग्रह गरेको दूतावासले जनाएको छ । चिनियाँ राष्ट्रपति सीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्ने नेपाल सरकारको आकांक्षामा चीनले सहयोग गर्ने बताएका छन् ।
संयुक्त राष्ट्रसंघ, एससीओलगायतका बहुपक्षीय मञ्चमा नेपालसँग सहकार्य गरिने सीको भनाइ रहेको विज्ञप्तिमा उल्लेख छ । नेपालले एक चीन नीतिप्रति देखाएको दृढ समर्थनका लागि सीले धन्यवाद दिएका थिए । बीआरआई परियोजनाको कार्यान्वयनमार्फत सहयोगलाई निरन्तरता दिइने प्रतिबद्धता पनि राष्ट्रपति सीले दोहोर्याएका छन् ।नेपाल–भारत सीमा विवादमा चीन कुनै पनि पक्ष बन्न चाहँदैन : सी
चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ७० वर्षको कूटनीतिक सम्बन्धमा दुई देश हरेक कठिनाइमा एक साथ उभिएको जनाइएको छ । परम्परागत र स्थायी मित्र नेपालको विकास र समृद्धिका लागि चीन नेपाल रणनीतिक सहयोग साझेदारीलाई नयाँ उचाइमा पुर्याउन तयार रहेको मन्त्रालयले जनाएको छ ।
उक्त विज्ञप्ति अनुसार राष्ट्रपति सीले दुवै पक्षले आपसी रणनीतिक विश्वासलाई बढाउनुपर्नेमा जोड दिएका छन् । मुख्य हित र प्रमुख चासोसँग सम्बन्धित मुद्दामा एकले अर्कालाई दृढता पूर्वक समर्थन गर्नुपर्ने बैठकमा सीको भनाइ थियो । ‘हामीले पारस्परिक रूपमा लाभदायक सहयोगलाई गहिरो गरी बनाउँदै संयुक्त रूपमा बेल्ट एन्ड रोड सहयोगलाई अगाडि बढाउनुपर्छ,’ सीको भनाइबारे चिनिया विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ‘बन्दरगाह, सडक, पावर ग्रिड, उड्डयन र दूरसञ्चार मार्फत सम्पर्कलाई बलियो बनाउनुपर्छ । ’ कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउन सफल कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सीले बताएका छन् । त्यसका लागि उद्योग, कृषि, पशुपालन, नयाँ ऊर्जा, वातावरण संक्षरण तेल र ग्यास, आर्टिफिसियल इन्टिलिजेन्स, शिक्षा, स्वास्थ्य, कानुन कार्यान्वयन र सुरक्षा जस्ता क्षेत्रमा सहयोग बढाउन चीनले प्रस्ताव गरेको विज्ञप्तिमा उल्लेख छ ।
भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको बताएका थिए । ‘नेपाल ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गर्छ र कुनैपनि शक्तिलाई चीनको हितलाई कमजोर पार्न आफ्नो क्षेत्र प्रयोग गर्न दिँदैन,’ ओलीको भनाइबारे चिनियाँ वक्तव्यमा उल्लेख छ । ओलीले लिपुलेकको प्रसंग उठाएको विषयमा चिनियाँ वक्तव्यमा केही पनि उल्लेख गरिएको छैन ।
चीन र नेपाल पहाड तथा नदीले जोडिएका छिमेकी भएको एवं पुस्तौँदेखि मित्रताको आनन्द उठाइरहेको बताउँदै दुबै मुलुक शान्तिप्रेमी र आत्मनिर्भर भएको टिप्पणी गरेको राष्ट्रपति सीलाई उदृत गर्दै चीनियाँ सञ्चारमाध्यहरुले जनाएका छन् । सञ्चारमाध्यमहरुका अनुसार बीआरआईका सन्दर्भमा सीले भनेका छन्, ‘नेपाल र चीन बेल्ट एन्ड रोड सहयोग निरन्तर अगाडि बढिरहेका छन्, यसबाट दुई देशका जनतालाई नजिक ल्याइरहेको छ ।’
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाले नेपाल चीनबीच अवरोध रहेका व्यापारिक नाकालाई छिटो खुलाउन चीन समक्ष आग्रह गरिएको बताएका छन् । चिनियाँ राष्ट्रपति सीले नेपाललाई भुपरिवेष्टिठ देशबाट जमिनको माध्यमबाट ठूला बजारमा आबद्ध भएको हेर्न चाहेको उल्लेख गरेको खतिवडाको भनाइ छ । बन्द रहेका व्यापारिक नाका खुलाउन चीनले प्रतिबद्धता जनाएको उनले बताए । चीनमा निर्यात बढाउन गणस्तरीय कृषि उत्पादन, औद्योगिक विकासका लागि चीनको सहयोग रहने राष्ट्रपति सीले भनेको उनले जानाकारी दिएका छन् । कान्तिपुरबाट





प्रतिकृया दिनुहोस्