March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

‘बोनस लाईफ’मा सफल उद्यमी

डोटी साउन ७(ई–रैवार): १५ वर्षको उमेरमा शिखर नगरपालिका–१० बनलेगका धर्मसिँह धामी(४७)को कटकटी छाती दुख्न थाल्यो । त्यतिबेला भारतमा मजदुरी गर्दैथिए । त्यसपछि सरकारी अस्पतालमा चेँकजाँच गर्दा मुटुमा जटिल समस्या देखियो ।
‘कलिलो उमेरमै मुटुमा समस्या देखिएपछि धेरै दिन बाँच्दैन भन्ने लागेर आयो,’ उनी सम्झन्छन,‘जीवनदेखी साह्रै विरक्त लाग्नथाल्यो । के गर्ने, के नगर्ने केही सोच्न सकिन् ।’ उपचारका क्रममा चिकित्सकले नियमित औषधि सेवन गर्नुपर्ने र पछि शल्यक्रिया गर्नुपर्ने बताए । उनलाई धेरै कडा शारिरीक मेहनत लाग्ने काम नगर्न भनियो ।
उनलाई त्यसअघि नेपालमै हुँदापनि उनलाई उकालोओरालो गर्न समस्या हुन्थ्यो । ‘हिँडडुल गर्न समस्या हुनथालेपछि पढाई छाडेर १३ वर्षको उमेरमा भारत गएको हुँ । उता मुटुमै समस्या देखियो,’ उनले भने । त्यसपछि उनी करिब १० वर्ष भारतमै बसे । त्यसक्रममा उनी निरन्तर चिन्ताले ग्रसित भइरहे । मुटुको रोगी बनेका उनलाई चिकित्सकले बाँचुञ्जेल औषधि सेवन गर्नुपर्ने भनेका थिए । सोही अनुसार गरिरहे ।
२३ वर्षको उमेरमा नेपाल पसे । नेपाल पसेपछि भने उनको जीवनमा ‘टर्निङ प्वाईन्ट’ आयो । घरको करकापले विवाह गर्र्नुपर्ने परिस्थिती आयो । ‘मलाई विवाह गर्न फिटिक्कै रहर थिएन । आफ्नो जीवनको कुनै भर थिएन्,’ उनले भने,‘किन अर्काको छोरीलाई विधवा बनाउने भन्ने लाग्थ्यो । तर, घरका कारण विहे नगरी भएन् ।’
विहेपछि भने घरपरिवारका लागि केही गर्नैपर्ने बाध्यता आईलाग्यो । त्यहीबाट भयो उनको व्यवसायिक जीवनको सुरुवात । उनी बेलाबेला औषधि ल्याउन भारतको राजधानी नयाँदिल्ली गईरहन्थे । फर्कदा नेपालमा मूल्य पाईने किसिमका सामानहरु ल्याउन थाले । जसमा स्टोभ, कुकर लगायतका सामानका पार्टपुर्जा हुन्थे । ती सामानहरुको बिक्रि गर्न दिपायलको राजपुरमा एउटा मर्मत सेन्टर खोले । जसमा दैनिक हज्जारौको कारोबार हुनथाल्यो । ‘त्यो बेला यहाँ सेनाको व्यारेक, क्षेत्रीय प्रहरी कार्यालय, क्षेत्रीय कायालयहरु सहितको बजार थियो,’ उनले भने,‘तर, यस्ता सामाग्रीको मर्मत सेन्टर थिएन । जसले सय दश रुपैयाँमै हुने काम नहुँदा पुरै स्टोभ, कुुकर वा यस्ता सामाग्री फाल्नुपर्ने अवस्था थियो ।’ त्यही मौकामा आफुले त्यो व्यवसायबाट राम्रो आम्दानी शुरु गरेको बताए ।
त्यसैक्रममा उनले थप अर्को व्यवसाय शुरु गरे । चाउमिन उद्योगको शुरुवात । ‘भारतबाट पोलिथिनको थैलामा आउने चाउमिन बेच्थे यहाँका खाजापसलहरु,’ उनले भने,‘मैले त्यसमा पनि सम्भावना देखे । दिल्ली गएका बेला सस्तोमा पाईने मेशिन ल्याएर पहिले चाउमिन बनाएर बेच्न थाले, पनि चाउमिन सस पनि शुरु गरे । मैले शुरु गरेपछि बजारमा भारतको चाउमिन बन्द भयो ।’ यसक्रममा उनी आफु यी दुई व्यवसायमा सक्रिय हुँदा परिवारका लागि खाजा पसल सञ्चालन गरे ।
हाल उनीसंग ‘सतनाम फुड प्रोडक्सन’का नामले सञ्चालित व्यवस्थित चाउमिन उद्योग छ । जसमा २५ लाखभन्दा बढीको लागत छ । यसैमा केही अनुदान पनि हासिल गरेको उनी बताउछन् । यस्तै ग्यासको सप्लायर्सको कारोबार छ । मर्मत सेन्टर पनि चलाएका छन् । यी सबैमा १० जनाजतिलाई रोजगार दिएका छन् भने, करोडौको सम्पत्ती जोडेका छन् । तीनजना छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिएका छन् ।
यसक्रममा उनले सन् २००३ र २०१५ मा गरी दुईपल्ट मुटुको शल्यक्रिया गरेर भल्भ फेरेका छन् । प्राकृतिक भल्भले काम गर्न छाडेपछि हाल उनको जीवन अस्थायी कृतिम भल्भका भरमा चलिरहेको छ । दुबै पटक नयाँदिल्लीमा रहेको राममनोहरलाल लोहिया अस्पतालमा उनले मुटुको शल्यक्रिया गरेका हुन् । ‘मेडिकल साईन्सले यतिको चमत्कार नगरेको हुँदो हो त म कहिल्यै स्वर्ग पुगेको हुन्थे,’ उनी सन्तोष प्रकट गर्दै भन्छन्,‘त्यसैले मेरो जीवनलाई मैले बोनस लाईफको रुपमा बुझेको छु ।’
उनी आफ्नो उद्यमशिलता अझै बिकसित गर्न चाहन्छन् । परिवारका लागि, युवाहरुलाई सन्देश दिनका लागि र जस्तोसुकै परिस्थितीमा पनि चाह्योभने नेपालमै पनि धेरै गर्न सकिन्छ भन्नका लागि आफु अझै उद्यम विकासमा लाग्ने उनी बताउछन् । ‘बोनस लाईफमा छु । यो जीवन सायद केही न केही गर्नकै लागि हो,’ उनी भन्छन्,‘त्यसैले परिवार, समाज र बेरोजगार युवालाई सन्देश दिनका लागि अझै सकेको बढाउछु ।’