March 5, 2026, Thursday
२०८२ फाल्गुन २१

रवि लामिछाने भैरहवामा, अदालतमा बुधबार उपस्थित हुने

बुटवल । रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने बुधबार भैरहवा पुगेका छन् । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएपछि रास्वपा सभापति लामिछाने मंगलबार भैरहवा पुगेका हुन।

उनीविरुद्ध सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो । सोही मुद्दाको प्रतिवादका लागि लामिछाने भैरहवा आएका हुन् ।

लामिछाने बुधबार अदालत उपस्थित हुनका लागि मंगलबार जहाजमार्फत भैरहवा आइपुगे । रास्वपा स्रोतका अनुसार उनका सहयोगीहरू दीपक बोहरा र प्रमोद न्यौपाने सडक मार्गमार्फत चितवन हुँदै मंगलबार नै रूपन्देही आइपुगेका थिए । लामिछाने मंगलबार दिउँसो साढे ४ बजे भैरहवा विमानस्थलमा उत्रिएका हुन् । लामिछानेले आफ्ना तर्फबाट सकेसम्म कम वकिल राखेर बुधबार नै बहस सिध्याउने तयारीमा छन् ।

जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले मंगलबार कार्यालय समयसम्म उपस्थित हुने कुनै जानकारी नभएको र बुधबार गोलाप्रथाको समयअगावै कार्यालयमा उपस्थित भएको अवस्थामा साेही दिन नै प्रक्रिया सुरु हुन सक्ने बताए । ‘उनी फरारको सूचीमा छन्, त्यसैले अदालतलाई जानकारी हुँदैन,’ उनले भने, ‘गोलाप्रथाको समयअघि नै कार्यालयमा उपस्थित भएको अवस्थामा सोही दिन प्रक्रिया सुरु हुन सक्छ ।’

इलाका प्रहरी कार्यालय बुटवलको पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले दर्जनभन्दा बढी तथ्य र प्रमाणसहित रवि लामिछाने, छविलाल जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा पूरक मुद्दा दायर गरेको थियो । २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । लामिछानेविरुद्ध २ करोड रुपैयाँ व्यक्तिगत बिगो तोकिएको छ ।

सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा गितेन्द्रबाबु राईसहित पूरक अभियोजनका २२ सहित ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।