एनपीएल : शनिवार उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन् । बिहीबार भएको क्वालिफायर टु मा कर्णाली याक्समाथि जनकपुर बोल्ट्सले २ विकेटको जित हात पार्दै सुदूरपश्चिमसँग उपाधिका लागी भिड्ने पक्का भएको हो ।
यसअघि बुधबार भएको क्वालिफायर वान मा सुदूरपश्चिमले जनकपुरलाई नै पराजित गर्दै फाइनलको स्थान बनाइसकेको थियो । यी दुई टोली लिग र प्लेअफमा गरी दुई पटक भेट हुँदा दुवै पटक सुदूरपश्चिम विजयी भएको थियो ।
तेस्रो भेटमा पनि सुदूरपश्चिम हावी होला वा जनकपुरले बदला लेला त्यसका लागि भने शनिवार हुने फाइनल नै कुर्नुपर्ने हुन्छ । लिग चरणमा शीर्ष दुई स्थानमा रहेको दुई टिम नै अन्ततस् फाइनलका प्रतिस्पर्धी भएका हुन् ।
सुदूरपश्चिमले लिग चरणमा खेलेको ७ मध्ये ६ खेल जितेको छ भने चितवन राइनोजसँग मात्र पराजित भएको थियो । जनकपुरले लिग चरणमा चितवनसहित सुदूरपश्चिमसँग पनि हार व्यहोरेको छ । जनकपुरले लिग चरणमा ७ मध्ये ५ खेल जितेर दोस्रो स्थानमा रहेको थियो । प्लेअफमा पनि पहिलो खेल हारेको जनकपुरले अर्को खेल जित्यो ।
सुदूरले समूह चरणमा लयलाई कायम राख्दै क्वालिफायर वान जितेर फाइनल पुग्ने पहिलो टोली बन्दा जनकपुरले पाएको अर्को अवसर सदुपयोग गरेको छ ।
पहिलो संस्करणको एनपीएलको उपाधि विजेताले एक करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेता टोलीले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
फाइनलमा स्थान बनाएसँगै सुदूरपश्चिम र जनकपुरले कम्तीमा ५१ लाख रुपैयाँ सुरक्षित गरेका छन्। क्वालिफायरमा पराजित भएसँगै कर्णालीले २५ लाख रुपैयाँ प्राप्त गर्नेछ। चौथो भएको चितवनले भने १५ लाख रुपैयाँ पाउनेछ।





प्रतिकृया दिनुहोस्