May 4, 2026, Monday
२०८३ बैशाख २१

महिला यू-१९ एसिया कपको सुपर फोरमा श्रीलंकासँग खेल्दै नेपाल

काठमाडौं। महिला यू-१९ एसिया कप क्रिकेटको सुपर फोरमा आज नेपालले श्रीलंकासँग खेल्दैछ। मलेसियामा जारी एसिसी यु-१९ महिला एसिया कपमा नेपाली युवा टोलीले आज (बिहीवार) बिहान ११:४५ बजेदेखी श्रीलंकाको सामना गर्ने भएको हो ।

दुवै टोलीले आ-आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ मा स्थान बनाएका छन् । नेपाल समूह चरणमा पाकिस्तानलाई पराजित गर्दै सुपर फोरमा पुगेको थियो। नेपाल र भारतबीचको खेल रद्द हुँदा नेपाल समूह ए को उपविजेता हुँदै सुपर फोरमा पुगेको हो।

भारत र पाकिस्तानसँग एकै समूहमा रहेको नेपालले पाकिस्तानलाई पराजित गर्दा भारतसँगको खेल वर्षाका कारण नतिजाबिहीन भएको थियो । श्रीलंका भने बंगलादेशसँग पराजित हुँदा मलेसियालाई हराएको थियो । पहिलो संस्करणको एसिया कपमा नै नेपालले सुपर ४ मा स्थान बनाएको हो ।

सुपर ४ को अर्को खेलमा शुक्रवार बंगलादेशको सामना गर्दैछ । सुपर ४ मा भारत, नेपाल, श्रीलंका र बंगलादेशले स्थान बनाएका छन् । सुपर ४ मा अर्को समूहबाट आएका २ टोलीसँग खेल हुनेछ । सुपर ४ को शीर्ष २ मा रहने टोलीले उपाधीका लागि खेल्नेछन् ।

फाइनल खेल आगामी आइतवार रहेको छ । एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।

यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।

नेपाली टोली

सोनी पाख्रिन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत।