यू-१९ एसिया कप क्रिकेट आजदेखि, नेपाल श्रीलंकासँग खेल्दै

काठमाडौं । यू-१९ एसिया कप क्रिकेट आजदेखि सुरू भएको छ। समूह बी मा रहेको नेपाल र श्रीलंकाबीचको खेल शारजहास्थित शारजहा क्रिकेट स्टेडियममा ९ बजे सुरु भएको हो ।
कुल आठ देश रहेको प्रतियोगितामा नेपाल समूह बी मा छ। नेपालको समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्। समूह ए मा भारत, पाकिस्तान, जापान र आयोजक युएई छन्।
प्रतियोगिता खेल्न नेपाली टोली बुधबार नै युएई पुगिसकेका हुन । एसिया कपको तयारीस्वरूप नेपालले भारतको कर्नाटका यू-१९ सँग पाँच खेलको सिरिज खेलेको थियो। त्रिवि मैदानमा भएको खेलमा नेपालले ३-२ ले सिरिज जितेको थियो।
नेपालको यू-१९ टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन्। उनले पहिलोपटक नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बनेका हुन्।
नेपाली टोलीमा कप्तान हेमन्त धामीसँगै अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी,दिलसाद अली र रन्जित कुमार छन्।
एसिया कपमा नेपालले मंसिर १४ मा श्रीलंकासँग खेलेपछि दोस्रो खेल मंसिर १६ मा बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ।





प्रतिकृया दिनुहोस्