May 4, 2026, Monday
२०८३ बैशाख २१

१६ वर्षकी बालिकामाथि सामूहिक बलात्कार, होटल सञ्चालकसहित ६ जना पक्राउ

विराटनगर । १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । झापाको अर्जुनधारा नगरपालिका- ५ मा बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीका अनुसार अर्जुनधारा नगरपालिका वडा नम्बर ७ मा रहेको लंका होटल एन्ड रिसोर्टका सञ्चालक र कामदारहरुले सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो। घटनामा संलग्न एक जना फरार रहेको केसीले बताए।

जिल्ला प्रहरी प्रमुख केसीका अनुसार यो घटना शुक्रबार रातिको हो। अर्जुनधाराको हाट र होटलमा पुर्‍याएर बालिकामाथि बलात्कार भएको प्रहरीले बताएको छ। सोही अभियोगमा होटल सञ्चालक राजवंशीसहित अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई , अर्जुनधारा –५ का १९ वर्षीय अनिष लिम्बू, २५ वर्षीय केशव मगर, २० वर्षीय सुदीप श्रेष्ठ र सुजन डाँगी पक्राउ परेका हुन्। घटनामा संलग्न समूहका एक जना फरार छन्।

पीडित बालिकाले शनिबार प्रहरीमा उजुरी दिएकी थिइन्। ‘पहिले हाट लाग्ने ठाउँमा जबरजस्ती करणी गरेको र त्यसपछि होटलमा पुर्‍याएर पनि जबरजस्ती गरेको पीडित बालिकाको उजुरीमा उल्लेख छ’, एसपी केसीले भने- ‘पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य छ। अभियुक्तहरुलाई आइतबार म्याद थप हुँदैछ।’