May 4, 2026, Monday
२०८३ बैशाख २१

एसीसी महिला एसिया कप : नेपाल र यूएई भिड्दै

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग नेपाल भिड्दै छ । श्रीलंकाको दाम्बुल्ला इन्टरनेसनल स्टेडियममा उक्त खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टिमले यो प्रतियोगितामा तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल यसअघि सन् २०१२ र २०१६ मा सहभागी भएको थियो । ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो ।

समूह ए मा रहेको नेपालले पाकिस्तान विरुद्ध जुलाई २१ मा खेल्नेछ भने भारत विरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ । समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

गत फेब्रुअरीमा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको नेपाल श्रीलंकामा भएको एसिया कपमा स्थान पाउनबाट वञ्चित भएको थियो । प्रिमियर कपमा फाइनल खेलेका दुई टोली युएई र मलेसिया सिधै एसिया कपमा प्रवेश गरेका छन् ।

तर, एसीसीले आठ टोलीको प्रतियोगिता बनाएर थाइल्याण्ड र नेपाललाई प्रतियोगितामा समावेश गरेको हो । यो नेपाली महिला टोलीको एसिया कपमा तेस्रो सहभागिता हुनेछ ।

नेपाली टिममा कप्तान वर्मासहित रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी सहभागी छन् ।