July 18, 2024, Thursday
३ श्रावण २०८१, बिहीबार

शुक्लाफाँटाको घाँसे मैदानमा रमाउँदै बाह्रसिंगा

कैलाली । चारैतिर हरियाली फाँट। ठाडाठाडा कान लगाउँदै मानिस भएतिर टाउको बंग्याएर हेर्दै भाग्दै गरेका बाह्रसिंगा अनि जरायो। यो दृश्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दृश्यावलोकन गर्न आइपुगेका पर्यटकको मन लोभ्याउँछ अनि पर्यटकहरू पहिलो फाँटाबाट अन्य फाँटा चहार्दै तीनतले मचान पुग्छन्।

त्यही मचानमा चढेर बाइनाकुलर लिएर टाढा–टाढासम्मका वन्यजन्तु तथा पाटेबाघ हेर्न लालाहित हुन्छन्। वसन्त ऋतुमा यो दृश्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मनमोहक देखिन्छ। ससाना सिरु घाँसको हरियालीमा बाह्रसिंगा र जरायोको झुन्ड रमाउँदै गरेको दृश्य नै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विशेषता हो।

पहिले तीनतले मचान, २४ नम्बर सीमा स्तम्भ र भत्केको पोस्ट एरियामा मात्रै देखिने बाह्रसिंगाका झुन्ड अहिले भने सर्दै उत्तरतर्फको फाँटमा आइपुगेका छन्। चर्न सजिलो र नरम घाँसे मैदान निर्माणपछि बाह्रसिंगाको झुन्डले उत्तरतर्फको घाँसे मैदानमा बासस्थान सारेका छन्। अहिले पर्यटकलाई बाह्रसिंगालगायतका वन्यजन्तु दृश्यावलोकन गर्न टाढाटाढा पुग्नै पर्दैन।

उत्तरतर्फ रहेको २४ हेक्टर क्षेत्रफलमा फैलिएको घाँसे मैदानमै सहजै वन्यजन्तु देख्न सकिन्छ। ‘पहिले वन्यजन्तुको झुन्ड हेर्न २४ नम्बर पिल्लर आसपास पुग्नै पथ्र्यो’, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेन्जर प्रयास केसीले भने, ‘अहिले त सुरुकै फाँटाबाटै वन्यजन्तुको झुन्ड देखिन थालेको छ।’

यसअघि घाँसे मैदान व्यवस्थित नहुनु र वन्यजन्तुका लागि पानीको जोहो नजिकै नहुँदा वन्यजन्तुको बासस्थान टाढा रहेको उनको भनाइ छ।

शुक्लाफाँटामा गर्मी मौसममा बन्यजन्तुलाई पानी पिउन तथा आहाल बस्न नहुँदा पर्याप्त मात्रामा पोखरी नहुँदा वन्यजन्तुवरपरका गाउँतिर भौंतारिने, किसानका बालीनाली नोक्सान गर्ने तथा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढेको स्मरण गर्दै उनले भने, ‘अहिले निकुञ्जभित्रै मानवनिर्मित कृत्रिम ताल निर्माण गरिएपछि वन्यजन्तुलाई निकुञ्जभित्र पर्याप्त पानी पाउनुका साथै घाँसे मैदानमा मज्जाले विचरण गर्न पाएका छन्।

जसले गर्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व घटेको छ।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले नेपाल सरकारको संरक्षण कार्यक्रम र तराई भूपरिधि कार्यक्रम (ताल) को सहयोगमा ‘ध्वनिरहित प्रविधि’ को प्रयोग गरेर जमिनमुनिबाट पानी तानेर कृत्रिम ताल निर्माण गरेको हो।

यस्तै तराई भूपरिधि कार्यक्रमकै सहयोगमा २४ हेक्टर क्षेत्रफलमा घाँसे मैदान निर्माण गरिएको छ। दुई तरिकाबाट पुरानो घाँसलाई परिमार्जित गरी नयाँ घाँस पलाउने विधि अपनाइएको छ। अहिले सो २४ हेक्टर क्षेत्रफलमा खण्डखण्ड गरी आगो प्रविधि र घाँस काट्ने मेसिन प्रयोग गरेर घाँसे मैदानलाई मनमोहक बनाएको छ, जसका कारण त्यही घाँसे मैदानमा बाह्रसिंगा, जरायो र चित्तलको झुन्ड आकर्षित हुँदै चरिरहेका देखिन्छन्।

यस्तै तराई भूपरिधि कार्यक्रमले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई वासस्थान व्यवस्थापनका लागि घाँसे मैदान तथा निकुञ्जको भवन मर्मत, वन्यजन्तु अनुगमनका लागि सवारी साधनको व्यवस्थापन खर्च दिएको छ। जसले गर्दा राष्ट्रिय निकुञ्जको आफ्नो आयस्रोतसँगै सहयोग रकमले वन्यजन्तु संरक्षणमा सहयोग पुगेको रेन्जर केसी बताउँछन्।

घाँसे मैदानको क्षेत्रफल विस्तारपछि वन्यजन्तुको संख्या पनि बढेको छ। वन्यजन्तुको घनत्व बढी भएका क्षेत्रमा कृत्रिम ताल बनाएपछि पारिस्थितिकीय प्रणालीमा सुधार भएको विज्ञ बताउँछन्। जसले गर्दा एउटै ठाउँमा मात्रै भेटिने खुर प्रजातिका वन्यजन्तु विभिन्न फाँटामा देखिन थालेपछि लोपोन्मुख रहेको पाटेबाघको आहारका लागि सहज भएको छ। पाटेबाघको संख्या बढ्दा आहारा खोज्न तथा आफ्नो एरियामा अर्को बाघ आउँदा हुने बाघको झगडामा पनि कमी आएको देख्न सकिन्छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सबैभन्दा बढी बाघको घनत्व रहेको संरक्षित क्षेत्रको रूपमा चिनिएको छ। नेपालमा रहेका बाह्रसिंगाको संरक्षण तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ स्थापना भएको निकुञ्जमा विश्वकै सबैभन्दा ठूलो बथानको रूपमा पाइने बाह्रसिंगा रहेको पाइन्छ। यो निकुञ्ज अन्य दुर्लभ वन्यजन्तु, पन्छी तथा वनस्पतिका लागि  समेत चिनिन्छ। नागरिकबाट