July 18, 2024, Thursday
३ श्रावण २०८१, बिहीबार

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक टी-२० विश्वकप फाइनलमा

काठमाडौं । अफगानिस्तानलाई ९ विकेटले हराउँदै जारी आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल यात्रा तय गरेको छ । ट्रीनिडाडमा बुधबार सम्पन्न सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले बिर्सनलायक प्रदर्शन गर्दै मात्र ५६ रनमा अलआउट भएको थियो ।अफगानिस्तानका लागि अज्मतुल्लाह ओमारजाइले सर्वाधिक १० रनको योगदान दिए ।

अन्य खेलाडीले दोहोरो स्कोरमा रन जोड्न सकेनन् । पहिलो ओभरमा मार्को यान्सनले रहमनुल्लाह गुर्बाजको विकेट लिँदै दक्षिण अफ्रिकालाई उत्कृष्ट सुरुवात दिलाए । समग्रमा दक्षिण अफ्रिकाका लागि यान्सन र तबरेज साम्सीले ३-३ तथा कागीसो रबाडा र एन्रिक नोर्कियाले २-२ विकेट लिए ।

जवाफमा दक्षिण अफ्रिकाले नवौं ओभरमा लक्ष्य पूरा गर्यो । दोस्रो ओभरमा क्विन्टन डी ककलाई गुमाएपनि रिजा हेन्डरिक्स र कप्तान एडन मारक्रमले टोलीलाई जित्सम्म पुर्याए । हेन्डरिक्सले २९ तथा मारक्रमले २३ रनको इनिङ खेले ।

आज राती हुने दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डले खेल्नेछन् । खेल नेपाली समयअनुसार रातको ८:१५ बजे सुरु हुनेछ ।