May 4, 2026, Monday
२०८३ बैशाख २२

टी-२० विश्वकप : वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

काठमाडौँ । दक्षिण अफ्रिका अपराजित रहँदै आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । ‘सुपर–८’ चरणअन्तर्गत सोमबार सम्पन्न ‘समूह–२’ को खेलमा आयोजक राष्ट्र वेस्ट इन्डिजलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा तीन विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो । 

टस हारी पहिले ब्याटिङको निम्तो पाएको दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो । दक्षिण अफ्रिका जवाफी ब्याटिङ गर्न ओर्लिएपछि नर्थ साउन्डमा वर्षा सुरु भएको थियो । 

वर्षाले लामो समय खेल अवरुद्ध भएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १७ ओभरमा एक सय २३ रन बनाउनु पर्ने गरी दक्षिण अफ्रिकाले नयाँ लक्ष्य पाएको थियो । दक्षिण अफ्रिकाले १६.१ ओभरमा सात विकेट गुमाएर एक सय २४ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो । 

दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । उक्त समूहबाट इङ्ल्यान्ड उप–विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको यो तेस्रो सेमिफाइनल यात्रा हो । 

दक्षिण अफ्रिका यसअघि सन् २००९ र सन् २०१४ मा टी–२० विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । तर, दक्षिण अफ्रिका हालसम्म सेमिफाइनलभन्दा अगाडि भने बढ्न सकेको छैन । यसपटक दक्षिण अफ्रिका आफूले खेलेको सबै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

टोली अप्ठ्यारो स्थितिमा रहँदा चौथो नम्बरका ब्याट्सम्यान स्टब्सले २७ बलको सामना गरी चार चौका पनि प्रहार गरे । पाँचौँ नम्बरका ब्याट्सम्यान हेनरिच क्लासनले पनि टोलीको खातामा २२ रन थपे । उनले केवल १० बलमा एक छक्का र तीन चौका प्रहार गरे । 

कप्तान एडन मार्क्रमले १८ र ओपनर क्विन्टन डी काकले १२ रन बटुलेका थिए । मार्को यानसेनले टोलीका लागि अविजित २१ रनको योगदान गरे । उनले केवल १४ बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काए । कागिसो राबडा पाँच रनमा अविजित रहे । 

क्यारेबियन टोलीका बलर रोस्टन चेजले तीन विकेट लिए । उनले तीन ओभरमा १२ रन खर्चिए । आन्द्रे रसेल र अल्जारी जोसेफले पनि दुई–दुई विकेट हात पारे । आफ्नो अन्तिम खेलमा विजयी भएको भए वेस्ट इन्डिज दक्षिण अफ्रिकालाई पछि पार्दै सेमिफाइनलमा पुग्ने थियो । दक्षिण अफ्रिकाभन्दा वेस्ट इन्डिजको नेट रन रेट राम्रो थियो । अर्को आयोजक राष्ट्र अमेरिका पनि यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । 

त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि रोस्टन चेजले अर्धशतक बनाएका थिए । तर, टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ४२ बलमा दुई छक्का र तीन चौकाको मद्दतले ५२ रन बनाएका थिए । 

ओपनर कायल मायर्सले पनि ३५ रन बनाएका थिए । उनले ३४ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । यसका अतिरिक्त वेस्ट इन्डिजका लागि आन्द्रे रसेल (१५ रन) र अल्जारी जोसेफ (अविजित ११ रन) ले मात्र दोहोरो अङ्कमा रन बटुल्न सके ।

दक्षिण अफ्रिकाका बलर ताबरिज सामसीले तीन विकेट लिए । उनले चार ओभरमा २७ रन खर्चिएका थिए । कागिसो राबडा, केशव महाराज, एडन मार्क्रम र मार्को यानसेनले पनि दक्षिण अफ्रिकाका लागि एक–एक विकेट हात पारे ।

हिजो राती भएको खेलमा सह-आयोजक संयुक्त राज्य अमेरिका आइसिसी टी-२० विश्वकपमा इंग्ल्याण्डसँग पराजित हुँदै सुपर आठबाट बाहिरिएको छ।

यसअघि सुपर आठका दुई खेलमा पराजित भएको अमेरिका अंक विहीन हुँदै सुपर आठबाट बाहिरिएको हो। गएराति इंग्ल्याण्डका दुई ओपनरले सानदार ब्याटिङ गर्दा विना विकेटको क्षतिमा अमेरिकाथि १० विकेटको जित निकालेको हो।

 अमेरिकाले दिएको ११६ रनको लक्ष्य इंगल्याण्डले ९.४ ओभरमा पूरा गरेको हो। ओपनर तथा कप्तान जोश बट्लरले विस्फोटक ब्याटिङ गर्दै ८३ रन बनाए। उनले ३८ बल खेलेर ६ चौका र ७ छक्का हाने।

ओपनर फिल सल्टले २१ बलमा २ चौका हानेर २५ रन जोडेपछि विना विकेटको क्षतिमा इंग्ल्याण्डले जित निकालेको हो। पहिले ब्याटिङ गरेको अमेरिका १८.५ ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो।

त्यस क्रममा नितिश कुमारले बनाएको ३० रन टोलीका लागि सर्वाधिक रह्यो। उनले २४ बलमा १ चौका र २ छक्का हाने। कोरे एन्डरसनले २८ बलमा १ छक्का हानेर २९ रन जोडे।

हरमीत सिंहले १७ बलमा २ चौका र १ छक्का हानेर २१ रनको योगदान गरे। ओपनर स्टिभन टेलर १२ रनमा, एन्ड्रिज गोस ८ रनमा, कप्तान आरोन जोन्स १० रनमा, मिलिन्ड कुमार ४ रनमा  तथा अली खान, नोसथस केन्जिग र सौरभ नेत्रवल्कलर शून्यमा आउट भए।

बलिङतर्फ इंग्ल्याण्डका  क्रिस जोर्डनले ४ विकेट, साम करण र आदिल रसिदले २/२ तथा रिस टोप्ले र लियम लिभिङस्टोनले १/१ विकेट लिए।

जितसँगै इंग्ल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ।  उसको चार अंक छ। यससँगै इंग्ल्याण्डको सेमिफाइनलमा स्थान सुरक्षित भइसकेको छ।