May 4, 2026, Monday
२०८३ बैशाख २२

टी-२० विश्वकप : सुपर आठमा भारतद्वारा अफगानिस्तान सहजै पराजित

एजेन्सी । आइसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत सुपर एट चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तान विरुद्ध सहज जित दर्ता गरेको छ । बार्बाडोसमा भएको खेलमा भारतले ४७ रनको फराकिलो अन्तरले जित हात पारेको हो ।

भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान अन्तिम ओभरमा अलआउट हुदै १ सय ३० रनमै रोकियो ।

अफगानिस्तानका लागि अजमतुल्लाह ओमारजाईले २० बलमा सर्वाधिक २६ रन बनाए । नजिबुल्लाह जाद्रानले १९ तथा गुलबदिन नैबले १७ रन जोडे । नूर अहमदले १२ तथा रहमनुल्लाह गुर्बाजले ११ रन बनाए।

भारतका लागि अर्शदिप सिंह र जस्प्रित बुम्राहले समान ३-३ विकेट लिए । कुलदीप यादवले २ विकेट तथा अक्षर पटेल र रविन्द्र जडेजाले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले २८ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५३ रन बनाए । हार्दिक पन्ड्याले ३२ रन बनाउँदा विराट कोहलीले २४ रन जोडे ।

ऋषभ पन्तले २०, अक्षर पटेलले १२ तथा शिवम दुबेले १० रन बनाए । अफगानिस्तानका फजलहक फरुकी र राशिद खानले ३-३ तथा नभिन उल हकले १ विकेट लिए ।

भारतले आफ्नो सुपर एट चरणको दोस्रो खेलमा शनिबार बंगलादेश विरुद्ध खेल्नेछ भने अफगानिस्तानले सोही दिन अष्ट्रेलियाको सामना गर्नेछ ।

त्यसैगरी आइसिसी टि-२० विश्वकपको सुपर एट चरणमा बिहीबार बिहान भएको खेलमा इङ्ल्यान्डले सानदार सुरुवात गरेको छ । इङ्ल्यान्डले घरेलु टोली वेस्ट इन्डिज माथि ८ विकेटको फराकिलो जित दर्ता गरेको छ।

एक समय समूह चरणबाट बाहिरिने अवस्थामा रहेको इङ्ल्यान्डले वेस्ट इन्डिजले दिएको १८१ रनको विशाल लक्ष्य १५ बल बाँकी छँदै २ विकेट मात्र गुमाएर भेटायो । इङ्ल्यान्डका ओपनर फिल साल्ट ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ८७ रनमा अविजित रहे । जोन्नी बेयर्सटो पनि २६ बलमा ५ चौका र २ छक्का सहित ४८ रनमा नटआउट रहे ।

अर्का ओपनर जस बटलरले २५ तथा मोइन अलीले १३ रन बनाए । वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेजले १-१ विकेट लिएका थिए ।

त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८० रन बनाएको थियो । वेस्ट इन्डिजका लागि जोन्सन चार्ल्सले ३४ बलमा बनाएको ३८ रन नै सर्वाधिक रहेको थियो ।

कप्तान निकोलस पुरनले ३२ बलमा ३६ रन बनाएका थिए भने रोभ्मन पावेलले १७ बलमा ३६ रन बनाएका थिए । शेरफान रदरफोर्डले २८ तथा ब्रेन्डन किंगले २३ रन जोडे ।

इङ्ल्यान्डका जोफ्रा आर्चर, आदील राशिद, मोइन अली र लियाम लिभिङस्टनले समान १-१ विकेट लिए ।

इङ्ल्यान्डले सुपर एटको दोस्रो खेल दक्षिण अफ्रिका विरुद्ध शुक्रबार खेल्नेछ भने वेस्ट इन्डिजको दोस्रो खेल अमेरिका विरुद्ध शुक्रबार राती नै हुनेछ ।