May 4, 2026, Monday
२०८३ बैशाख २२

टी-२० विश्वकप : दक्षिण अफ्रिकाको लगातार तेस्रो जित, नेपालले दोस्रोखेल श्रीलंकासंग सामना गर्दै

काठमाडौँ । आइसीसी टि-२० विश्वकपमा बंगलादेशलाई रोमान्चक ढंगले पराजित गर्दै दक्षिण अफ्रीकाले लगातार तेस्रो जित दर्ता गरेको छ । सोमबार राति भएको समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिका लगातार तेस्रो पटक विजयी हुने क्रममा बंगलादेशविरूद्ध ४ रनको रोमाञ्चक जित निकालेको हो।

अन्तिम बलसम्म पुगेको खेलमा दक्षिण अफ्रिकाले दिएको ११४ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले ७ विकेटको क्षतिमा १०९ रन मात्र बनाउन सक्यो । 

बंगलादेशलाई जितका लागि अन्तिम २ ओभरमा १८ रनको आवश्यकता थियो । ओलिभर बार्ट्मनले १९ औ ओभरमा ७ रन मात्र दिएपछि स्पिनर केशव महाराजको अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो ।

महाराजले सुरुवातमा वाइड बल गरे । पहिलो बलमा महमदुल्लाहले १ रन लिए । दोस्रो बलमा जाकेर अलीले २ रन लिन सफल भए । तेस्रो बलमा जाकेर लङ-अनमा क्याच आउट भए । नयाँ ब्याटर रिशाद होसेनले चौथो बलमा लेग-बाइज सहित १ रन लिए । 

दुई बलमा ६ रनको आवश्यकता रहेकोमा महमादुल्लाह फुल-टस बलमा लङ-अनमा नै एइडन मार्क्रमद्वारा क्याच आउट भए । अन्तिम बलमा पनि ६ रन चाहिएको थियो । तर नयाँ ब्याटर तास्किन अहमदले १ रन मात्र लिन सकेपछि दक्षिण अफ्रीका विजयी भयो ।   

बंगलादेशका लागि टोहिड हृदोयले ३४ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ३७ रन जोड्न सफल रहे । महमदुल्लाहके २० तथा नज्मुल हसन शान्टोले १४ रन बनाए । अन्य ब्याटर भने चल्न सकेनन् ।

दक्षिण अफ्रिकाका लागि केशव महाराजले ३ तथा कागीसो रबाडा र एनरिक नोर्ट्जेले २-२ विकेट लिए ।   

त्यसअघि न्युयोर्कमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट मात्र गुमाएर ११३ रन जोड्यो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन जोडे । डेविड मिलरले ३८ बलमा २९ रन बनाए भने ओपनर क्विन्टन डीककले ११ बलमा १८ रन जोडे ।

बंगलादेशका लागि तान्जिम सकिबले सर्वाधिक ३ विकेट लिए भने तास्किन अहमदले २ तथा रिशाद होस्सेनले १ विकेट लिए । 

जित पछि समूह ‘डी’ मा दक्षिण अफ्रिकाको ३ खेलमा ६ अंक भएको छ । बंगलादेश र नेदरल्यान्ड्सको समान २-२ खेलमा समान २-२ अंक रहेको छ भने नेपाल र श्रीलंका अंकविहिन छन् । नेपालले १ खेल खेलेको छ भने श्रीलंकाले २ खेल खेलेको छ ।    

दक्षिण अफ्रीकाको लगातार तेस्रो जितसँगै श्रीलंकाले अन्तिम ८ मा स्थान पक्का गरेको छ। अब उसले अन्तिम खेल नेपालसँग खेल्नेछ।

समूहको दोस्रो स्थानमा रहेको बंगलादेशले दुई खेलमध्ये १ जित र १ हार ब्यहोरेको छ। बंगलादेशले अब नेपाल र नेदरल्याण्ड्ससँग खेल्नेछ।

नेदरल्याण्ड्स तेस्रो, नेपाल चौथो र श्रीलंका पुछारमा छ। दक्षिण अफ्रिकाबाहेक बाँकी तीन देशले दुई/दुई खेल खेलेको छ भने नेपालले एक खेल मात्रै खेलेको छ। नेपालले अब श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले २०२४ आइसीसी मेन्स टि२० विश्वकपको दोस्रो खेलमा मंगलबार श्रीलंकाको सामना गर्दैछ । नेपाली समयअनुसार बुधबार विहान ५:१५ बजे फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा खेल हुँदैछ ।

श्रीलंकाविरुद्ध नेपाल १४ सदस्यीय टोलीसहित उत्रनेछ । प्रतिश जिसीको स्थान सन्दीप लामिछानेले लिएकाले टोलीमा १४ सदस्य मात्र छनोटका लागि योग्य हुनेछन् । वेस्ट इन्डिज पुगेपछि भने सन्दीप टोलीमा जोडिनेछन् ।

नेपाल र श्रीलंकाले सिनियर क्रिकेटमा पहिलो पटक एक अर्काको सामना गर्दैछन् । उमेर समूहमा भने पटक पटक भेट भएको इतिहास छ । सन् २०१६ को यू१९ एसिया कपमा कामिन्डु मेन्डिसको कप्तानीमा रहेको श्रीलंकासँग नेपाल १ रनले पराजित भएको थियो ।

उक्त खेलमा दीपेन्द्रसिंह ऐरीले ९० रनको इनिङ खेलेका थिए । यी दुवै अहिले विश्वकप टोलीमा छन् । नेपालबाट भने उक्त खेलमा आसिफ शेख, कमलसिंह ऐरी र सन्दीप लामिछाने पनि खेलेका थिए ।