टी-२० विश्वकप : वेष्टइन्डिजको लगातार दोस्रो जित, युगान्डा ३९ रनमा समेटियो

काठमाडौं । टी-२० विश्वकप-२०२४ मा वेष्टइन्डिजले युगान्डालाई फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ ।प्रोविडेन्समा आज बिहान भएको खेलमा वेस्ट इन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डा ३९ रनमा समेटिएको हो ।
टस जितेर सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा पुरै २० ओभर खेल्दै १७३ रन बनाएको थियो। १७४ रनको लक्ष्य पछ्याएको गुगान्डा १२ ओभरमा सबै विकेट गुमाएर ३९ रनमा समेटिएको हो।
युगान्डाले पावर प्लेमा मात्र ५ विकेट गुमाएर २२ रन जोड्न सक्यो। १० ओभरमा युगान्डाले ८ विकेट गुमाएर मात्र ३१ रन बनायो। युगान्डाका लागि वेस्ट इन्डिजविरुद्ध जुमा मियागीले १३ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
युगान्डालाई सस्तैमा समेट्न वेस्ट इन्डिजका अकेल होसेनले एक्लै ५ विकेट हात पारे। उनले चार ओभर बलिङ गर्दै मात्र ११ रन दिए। अल्जारी जोसेफले दुई विकेट लिए भने रोमारियो शेफर्ड, गुडाकेश मोती र आन्द्रे रसेलले एकएक विकेट हात पारे।
अष्ट्रेलियाले इंग्ल्यान्डलाई हरायो
हिजो भएको आइसीसी टि२० विश्वकप अन्तर्गत समूह बी को खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई पराजित गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको अष्ट्रेलियाले ३६ रनको जित दर्ता गर्यो ।
बार्बाडसमा पहिलो ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर २ सय १ रन जोडेको थियो । अष्ट्रेलियाका कुनैपनि ब्याटरले ४० रन कटाएनन् तर आक्रामाक ब्याटिङ गरे ।
ओपनरद्वय ट्राभिस हेड र डेविड वार्नरले आक्रमक सुरुवात दिलाएका थिए । पाँच ओभरमा ७० रन जोडेको अवस्थामा वार्नर आउट भएपछि साझेदारी तोडिएको थियो । उनले १६ बलमा २ चौका र ४ छक्कासहित ३९ रन जोडे । हेडले १८ बलमा ३६ रन बनाए ।
कप्तान मिचेल मार्सले ३५, ग्लेन म्याक्सवेल २८ र मार्कस स्टोइनिसले ३० रन बनाए । इंग्ल्यान्डका क्रिस जोर्डनले २ विकेट लिए ।
जवाफमा राम्रो सुरुवात गरेपनि मध्यक्रम नचल्दा इंग्ल्यान्ड ६ विकेटको क्षतिमा १ सय ६५ रन बनाउँदै पराजित हुन पुग्यो । आठौं ओभरमा फिल साल्ट ३७ रन जोडेर आउट हुँदा इंग्ल्यान्डले ७३ रन बनाइसकेको थियो । उनले २३ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
जाम्पाले साल्टलाई बोल्ड गरेर आफ्नो अर्को ओभरमा कप्तान बटलरलाई पनि आउट गरे । बटलरले २८ बलमा ४२ रनको योगदान दिएका थिए । विल ज्याक्स १० र जोनी बेयरस्टो ७ रनमा आउट भए ।
मोइन अलीले २५, ह्यारी ब्रुकले २० र लियाम लिभिंगस्टोनले १५ रन मात्र जोडे । प्याट कमिन्स र एडम जाम्पाले २/२ विकेट लिए ।
अष्ट्रेलिया २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । स्कटल्यान्डको २ खेलमा ३ अंक तथा नामिबायाको २ खेलमा २ अंक छ । इंग्ल्यान्डको १ अंक र ओमान अंकविहिन छ ।
त्येस्तै विश्वकपमा दक्षिण अफ्रिकाले शनिबार नेदरल्याण्ड्समाथि कठिन जित दर्ता गरेको छ । दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित हराउँदै लगातार दोस्रो जित दर्ता गर्यो ।
१ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । एक समय १२-४ को अवस्थाबाट डेभिड मिलर र ट्रिस्टन स्टब्सले दक्षिण अफ्रिकाको इनिङलाई स्थिर बनाउँदै जिततर्फ डोर्याएका थिए । मिलरले ५१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ५९ रन बनाए । स्टब्स ३७ बलमा ३३ रनमा आउट भए ।
अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । क्विन्टन डी कक कुनै पनि बलको सामना नगरी रनआउट हुँदै सुरु भएको इनिङमा लगातार विकेट खसेको थियो । तर मिलरको दृढताले टोलीलाई जितसम्म पुर्यायो ।
नेदरल्यान्ड्सका लागि भिभियन किङ्मा र लोगान भान बिककले २-२ विकेट लिएका थिए । बास डी लिड्स मात्र विकेट लिने अन्य बलर थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रन बनाएको थियो । साइब्रान्ड एंगलब्रेक्टले ४५ बलमा ४० रन बनाएका थिए । त्यस्तै भान बिकले २२ बलमा २३ रन बनाए । विक्रमजीत सिंहले १२ र स्कट एडवर्ड्सले १० रन जोडे ।
दक्षिण अफ्रिकाका लागि ओटनियल बारर्टम्यानले ४ विकेट लिए । मार्को जेन्सेन र एन्रिच नोर्टजेले समान २ विकेट लिए ।
समूह डी मा दक्षिण अफ्रिकाको २ खेलबाट ४ अंक भएको छ । बंगलादेशको एक खेलबाट २ अंक छ । नेदरल्याण्ड्सको २ खेलबाट २ अंक छ । नेपाल र श्रीलंकाको अंकविहिन छन् ।





प्रतिकृया दिनुहोस्