टी-२० विश्वकप : श्रीलंकाको लगातार दोस्रो हार, बंगलादेश २ विकेटले विजयी

डालास । टी-२० विश्वकपमा समूह डी मा श्रीलंकाले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको रोमाञ्चक खेलमा श्रीलंका बंगलादेशसँग २ विकेटले पराजित भएको हो ।
श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो। बंगलादेशको भने यो पहिलो खेल हो।
शनिबार श्रीलंकाले दिएको १२५ रनको लक्ष्य बंगलादेशले ८ विकेट गुमाएर १९ ओभरमा पूरा गरेको हो। बंगलादेशका ओपनरद्वय तान्जिड हसन ३ रनमा र सौम्य सरकार शून्यमा आउट भएपछि दबावमा परेको बंगलादेशलाई लिटन दासले केही उकासेका थिए। उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरी ३६ रन बनाए।
त्यसपछि कप्तान नजमुल हुसेन शान्तो ७ रन बनाएर आउट भए। टोहिड हृदोयले २० बलमा १ चौका र ४ छक्का प्रहार गरी ४० रनको योगदान गरे। शकिब अल हसनले ८ रन र महमुदउल्लाहले नट आउट १६ रन जोडे।
बलिङतर्फ श्रीलंकाका नुवन थुसाराले ४ विकेट, वानिडु हसरंगाले २ तथा धनन्जय डी शिल्भा र मथिशा पाथिरनाले एक/एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर १२४ रन बनाएको थियो। बंगलादेशका लागि पथुम निस्संकाले सर्वाधिक ४७ रन बनाएका थिए। उनले २८ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
धनन्जय डि सिल्भाले २६ बलमा १ चौका प्रहार गरी २१ रन बनाए। चरिथ अशलंकाले १९, एंगेलो म्याथ्युजले १६ र कुशल मेन्डिसले १० रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ मुस्ताफिजुर रहमान र रिसाद होसेनले ३/३ तथा तास्किन अहमदले २ र तान्जिम हशन सकिबले १ विकेट लिए।
समूह डीमा श्रीलंकाले लगातार दोस्रो हार बेहोरेको छ । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो।
दक्षिण अफ्रिका,नेदरल्याण्ड्स र बंगलादेशले १ खेल जितेका छन्। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग ६ विकेटले गुमाएको थियो। नेपाल र श्रीलंकाबीच मंगलबार अमेरिकाको फ्लोरिडामा खेल हुनेछ।
हिजो राति भएको आइसिसी टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डमाथि सानदार जित निकालेको छ। शनिबार भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गर्दै जारी खेलमा लगातार दुई जित निकालेको हो।
अफगानिस्तानले न्युजिल्याण्डलाई जितका लागि १६० रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गर्ने क्रममा न्युजिल्याण्ड ७५ रन बनाएर १५.२ ओभरमै अल आउट भएको हो।
न्युजिल्याण्डलाई सस्तोमा समेट्न फजलहक फारूकी र रसिद खानले ४/४ विकेट तथा मोहम्मद नावीले २ विकेट लिए। न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले बनाएको १८ रन सर्वाधिक रह्यो। म्याट हेनरीले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
न्युजिल्याण्डका ओपनर फिन एलेन गोल्डेन डक भएका थिए। अर्का ओपनर डेभन कोन्वे ८, कप्तान केन विलियसन ९,ड्यारिल मिचेल ५, मार्क च्यापम्यान ४ र मिचेल सान्टनर ४ रन बनाएर आउट हुँदा माइकल ब्रेसवेल शून्यमै आउट भए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले अफगानिस्तानले ६ विकेट गुमाएर १५९ रन बनाएको थियो। अफगानिस्तानका लागि दुई ओपनरले उत्कृष्ट प्रदर्शन गरे। ओपनर रहमानउल्लाह गुर्बाजले ८० र इब्राहिम जद्रानले ४४ रन बनाए।
गुर्बाजले ५६ बलमा ५ चौका र ५ छक्का प्रहार गरे भने इब्राहिम जद्रानले ४१ बलमा ३ चौका र २ छक्का प्रहार गरे। अज्मतउल्लाह ओमरजइले १३ बलमा १ चौका र १ छक्का प्रहार गरी २२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ न्युजिल्याण्डका ट्रेन्ट बोल्ट र म्याट हेनरीले २/२ तथा लोकी फर्गुशनले एक विकेट लिए। अफगानिस्तानले यसअघि पहिलो खेलमा युगान्डालाई १२५ रनले पराजित गरेको थियो।
समूह ‘सी’मा रहेको अफगानिस्तान ४ अंक बनाएर शीर्ष स्थानमा छ।





प्रतिकृया दिनुहोस्