टी-२० विश्वकपमा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दै

काठमाडौँ । नेपालले नेदरल्यान्ड्सँग २०२४ आइसीसी टि-२० विश्वकपको यात्रा आजबाट सुरु गर्दैछ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा मंगलबार राति नेपाल र नेदरल्यान्ड्सबिच खेल हुने भएको हो ।
नेपाली क्रिकेट टोलीले अघिल्लो चरणको आशा कायम राख्नका लागि आजको खेल जित्नु पर्ने हुन्छ । खेल अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेयरी रंगशालामा नेपाली समय अनुसार मंगलबार राति ९:१५ बजे (स्थानिय समय अनुसार विहान १०:३० बजे) सुरु हुनेछ ।
नेपाल र नेदरल्यान्ड्स प्रतियोगिताको समूह ‘डी’ मा रहेका छन् । जारी विश्वकपमा यी दुवै टोलीले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । उक्त समूहमा नेपाल र नेदरल्यान्ड्सका अतिरिक्त दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश पनि छन् ।
समूह ‘डी’ अन्तर्गत खेल्न लागिएको यो दोस्रो खेल हो । यसअघि खेलिएको उक्त समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको थियो । सोही जितका कारण दक्षिण अफ्रिका दुई अङ्कसहित तालिकाको पहिलो स्थानमा छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेदरल्यान्ड्स १५औँ र नेपाल १७औँ स्थानमा छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि नेदरल्यान्ड्स परिचित प्रतिद्वन्द्वी हो । नेपालले यसअघि पनि नेदरल्यान्ड्ससँग थुप्रै प्रतियोगिता खेलिसकेको छ ।
यी दुई टोलीले सन् २०१५ यता ३ महिना अघि सम्म १२ खेल खेलिसकेका छन् । त्यसमा नेपालले ५ खेल र नेदरल्यान्ड्सले ६ खेल जितेको छ । एउटा खेल भने नतिजा खेल निस्केन । नेपालले ५ मध्ये ३ खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा जितेको थियो ।
नेपालको दोस्रो सहभागिता
आईसीसी टी–२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । नेपाली टोलीले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । बंगलादेशमा सम्पन्न त्यो विश्वकपमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।
त्यतिबेला पनि एसोसिएट सदस्य राष्ट्र नेपालले छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालले कुनै पनि ढाँचाको क्रिकेट विश्वकपमा सहभागिता जनाएको त्यो पहिलो पटक थियो । त्यो विश्वकपको ढाँचा पनि केही फरक थियो ।
आईसीसीको पूर्णकालीन सदस्यमध्ये पहिलोदेखि आठौँ वरीयतामा रहेका राष्ट्र सिधै प्रतियोगिताको ‘सुपर टेन’ चरणमा पुगेका थिए । आईसीसीको पूर्णकालीन सदस्यमध्ये नवौँ र १०औँ वरीयतामा रहेका टोली बंगलादेश र जिम्बाबेले भने छनोट चरण पार गरेर आएका ६ वटा एसोसिएट्स सदस्य राष्ट्रसँग प्रारम्भिक चरणमा प्रतिस्पर्धा गरेका थिए ।
त्यतिबेला नेपालसँगै आयरल्यान्ड, अफगानिस्तान, नेदरल्यान्ड्स, संयुक्त अरब इमिरेट्स (यूएई) र हङ्कङ गरी ६ वटा एसोसिएट्स सदस्य राष्ट्रले छनोट चरण पार गरेर त्यो विश्वकपमा सहभागिता जनाएका थिए । नेपालसँगै यूएई र हङ्कङका लागि पनि त्यो पहिलो विश्वकप सहभागिता थियो ।





प्रतिकृया दिनुहोस्