May 4, 2026, Monday
२०८३ बैशाख २२

आईसीसी ट्वान्टी-२ उद्घाटन खेलमा क्यानडामाथि अमेरिकाको सहज जित

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको उद्घाटन खेलमा अमेरिकाले क्यानडामाथि सहज जित नकालेको छ । अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा अमेरिकाले सात विकेटको जित निकालेको हो ।

क्यानाडाकाले दिएको १९५ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा मात्र ३ विकेटको क्षतिमा सो लक्ष्य पूरा गर्यो । एरन जोन्स र एनड्रीस गुसको १३१ रनको विष्फोटक साझेदारीले खेल क्यानडाको हातबाट टाढा लगिदियो ।

जोन्सले ४० बलमा ४ चौका र १० छक्काको मद्दतमा ९४ रन बनाउँदै अविजित रहे । गुस भने ४६ बलमा ७ चौका र ३ छक्का सहित ६५ रन बनाएर आउट भएका थिए ।

ओपनर स्टेभेन टेलर शून्यमा पेभेलियन फर्किएपछि अमेरिका केही दवावमा आएको थियो । अर्का ओपनर मोनांक पटेल पनि १६ रन बनाएर आउट भएपछि अमेरिकाको स्कोर ४२-२ रहेको थियो । तर तेस्रो विकेटको विशाल साझेदारी पछि अमेरिका जिततर्फ लम्किएको थियो । अमेरिकाका कोरी एन्डरसन ३ रन बनाएर अविजित रहे ।

क्यानाडाका लागि कलीम सना, डिलन हेलिगर र निखिल दत्तले समान १-१ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर व्याटिङको निम्तो पाएको क्यानाडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन जोडेको थियो । क्यानाडाका लागि नभनित धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाएका थिए ।

यस्तै निकोलस किर्तनले ३१ बलमा ५१ रन बनाउँदै अर्धशतक पुरा गरे । एरन जोन्सनले २३, दिलप्रित सिंहले ११ तथा पर्गत सिंहले ५ रन बनाए ।

अमेरिकाका लागि अलि खान, हरमीत सिंह र कोरी एन्डरसनले १-१ विकेट लिए ।

अमेरिका र क्यानाडा रहेको समूह ए मा भारत, पाकिस्तान र आयरल्यान्ड समेत रहेका छन् । विश्वकपको दोस्रो खेलमा आईतवार नै नेपाली समय अनुसार बेलुका ७:१५ बजे वेस्ट इन्डिज र पपुवा न्यूगिनी भिड्ने छन् ।