May 5, 2026, Tuesday
२०८३ बैशाख २२

धमाधम पाँच विकेट गुमाएपछि दबाबमा नेपाल

काठमाडौं । ‘पावर प्ले’मै एकपछि अर्को गर्दै चार विकेट गुमाएको नेपालले थप एक विकेट गुमाएसँगै वेस्ट इन्डिज ‘ए’ विरुद्ध चर्को दबाबमा परेको छ ।

६ ओभरमै नेपालले २८ रनमा ४ महत्वपूर्ण विकेट गुमाउन पुगेको थियो । जसमा पहिलो विकेटका रुपमा २ रनको योगदान दिएका कुशल भुर्तेललाई गुमाएको थियो । त्यसपछि क्रिजमा आएका अनिल साह एक रनमै आउट भए । त्यसपछि ओपनर आएर रिटायटए हर्ट भएका लोकेश बम पनि १७ रनमै आउट हुन पुगे ।

चौथो विकेटका रुपमा कुशल मल्ल रनआउट भए । यस्तै नवौं ओभरको खेलमा आक्रामक २६ रन जोडेका गुल्शन झा पनि आउट भएका छन् ।

वेस्टइन्डिज ए ले दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई १ सय ६१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको थियो । वेस्टइन्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए ।

गुडाकेश मोतीले तल्लोक्रममा ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रनमा नट आउट रहे । म्याथ्यु फर्ड ६ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे ।

तेस्रो ओभरमा स्पिनर सागर ढकालले जोनसन चाल्र्सलाई ११ र एलिक एथानाजेलाई ६ रनमा आउट गरेका थिए । त्यसपछि कुनै पनि समय वेस्टइन्डिजले आक्रामक क्रिकेट खेल्न सकेन । वेस्टइन्डिजको कमजोरीको फाइदा उठाउँदै नेपालले लगातार स्पिनर लगाएको थियो ।

रोश्टन चेश, २२ बलमा २ चौका र १ छक्कासहित २३, केसी कार्टी १०, किमो पल ८ र हेयडन वाल्स ९ रनमा आउट भए । अन्तिम २ ओभरमा वेस्टइन्डिजले ४१ रन जोडेको थियो ।

नेपालका स्पिनर सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १(१ विकेट लिए ।

पाँच खेलको सिरिजमा नेपाल १/० ले अघिछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।