May 5, 2026, Tuesday
२०८३ बैशाख २२

नेपाल ए लाई आयरल्यान्डले दियो २८५ रनको लक्ष्य

काठमाडौं । ओपनर स्टेफन डोहेनीको शतकमा आयरल्यान्ड ए ले तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको आयरल्यान्ड वुल्भ्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८४ रनको योगफल खडा गरेको हो ।

ओपनर डोहनीले १ सय २९ बलमा १ सय ७ रनको योगदान दिए । उनले ४७ औं ओभरमा आउट हुनुअघि ८ चौका र २ छक्का प्रहार गरे ।

त्यसअघि ओपनर जेम्स मकलम ९ रन जोडेर विकास आग्रीको बलमा विकेटकिपरबाट समातिएका थिए । दोस्रो विकेटका लागि पिटर मुर र डोहनीले ६६ रनको साझेदारी गरे । मुरले २५ बलमा २ चौका र ५ छक्कासहित ४४ रनको विष्फोटक इनिङ खेले । उनी साहब आलमको बलमा बाउन्ड्रीनजिक समातिए ।

केड कार्माइकल १३ बलमा ८ रन जोड्दै रंजित कुमारको बलमा बोल्ड भए । मोर्गन टपीङ ३६ बलमा २ चौकासहित २१ रन जोड्दै रिजनको एलबीडब्लु धरापमा परे । कप्तान निल रक मात्र १ रन जोड्दै रिजनकै बलमा आउट भए ।

तल्लोक्रममा ग्याभिन होएले १० बलमा १४ रन जोडे । फिओन ह्यान्डले २१ बलमा २ चौका र १ छक्कासहित २० रन बनाए । म्याथ्यु हम्फ्रिजले अन्तिम बलमा रनआउट हुनुअघि ३४ बलमा २३ रन जोडे । बेन ह्वाइट १९ रनमा नटआउट रहे । उनले १२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

नेपाल ए का लागि रिजन ढकाल र रंजित कुमारले ३-३ विकेट लिए । विकास आग्री र साहब आलमले १-१ विकेट बाँडे । वल्भ्सले सिरिज २-० ले जितिसकेको छ । वल्भ्सले यसअघि टि२० सिरिज २-१ ले जितेको थियो ।