December 1, 2024, Sunday
१६ मंसिर २०८१, आईतवार

आइपिएल : बैंगलुरूमाथि कोलकाताको सानदार जित, आज लखनऊ र हैदराबाद भिड्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेञ्जर्स बैंगलुरूमाथि कोलकाता नाइट राइडर्सले सानदार जित निकालेको छ।गएराति बैंगलुरूको एम चिन्नास्वामी स्टेडियममा कोलकाताल ७ विकेटको सानदार जित निकाल्दै जारी संस्करणको आइपिएलमा लगातार दुई जित निकालेको हो। 

आरसिबिको घरेलु मैदान चिन्नस्वामी स्टेडियममा भएको खेलमा पाएको १८२ रनको लक्ष्य केकेआरले १९ बल बाँकी रहँदा ३ विकेट गुमाएर भेटायो । केकेआरको जितमा भेन्कटेश ऐयरले ३० बलमा ५० रनको अर्धशतकीय इनिङ खेले ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बैंगलुरूले ६ विकेटको क्षतिमा १८२ रन बनाएको थियो। बैंगलुरूका लागि ‌ओपनर विराट कोहली ८३ रन हानेर नट आउट रहे। ५९ बल खेलेका उनले ४ चौका र ४ छक्का हाने।

अन्तिम बलमा रन आउट हुनअघि दिनेश कार्थिकले ८ बलमा ३ छक्काको मद्दतले २० रन जोडे। त्यसअघि क्यामरून ग्रीनले २१ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३३ रनको योगदान गरे भने १९ बल खेलेका ग्लेन म्याक्सवेलले ३ चौका र १ छक्का प्रहार गर्दै २८ रन बनाए।

कप्तान फाफ डु प्लेसिस ८ रन बनाएर आउट हुँदा रजत पाटिदार र अनुज रावत ३/३ रन बनाएर आउट भएका थिए।

आइपिएलको जारी सिजनमा ३ खेल खेलेको बैंगलुरू दुई खेलमा पराजित भएको छ भने दुई खेल खेलेको कोलकाता लगातार विजयी भएको छ।

आज हुने खेलमा लखनऊ सुपर जाएन्ट्स र सनराईजर्स हैदराबाद भिड्ने छन् ।