आईपीएल : राजस्थानको लगातार दोस्रो जित, आज कोलकत्ता र बेंगलूरु भिड्दै

काठमाडौँ । दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित हात पारेको छ । जयपुरको सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थान रोयल्सले दोस्रो जित सुनिश्चित गरेको हो ।
१८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा आवेश खानले ४ रन मात्र दिएपछि दिल्लीले हार बेहोर्न पुग्यो ।
दिल्लीका लागि डेभिड वार्नरले ३४ बलमा सर्वाधिक ४९ रन बनाए । यस्तै ट्रिस्टन स्टब्सले २३ बलमा ४४ रनको अविजित इनिङ खेलेपछि हार टार्न सकेनन् । ऋषभ पन्तले २८ रन बनाउँदा मिचेल मार्शले २३ रन जोडे ।
राजस्थानका लागि नान्द्रे बर्गर त युजभेन्द्र चहलले समान २-२ विकेट लिए भने आवेश खानले १ विकेट लिए ।
त्यसअघि जयपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले रियान परागको विष्फोटक इनिङको मद्दतमा ५ विकेट गुमाउँदै १८५ रन बनायो । परागले ४५ बलमा ७ चौका र ६ छक्का सहित ८४ रन जोडेका थिए । उनी बाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएनन् । रविचन्द्रण अश्विनले २९ तथा ध्रुव जुरेलले २० रन बनाएका थिए ।
दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरीक नोर्टजे, अक्सर पटेल र कुलदीप यादवले समान १-१ विकेट लिए ।
आईपिएलमा आज कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलूरु भिड्ने छन् ।
प्रतिकृया दिनुहोस्