May 5, 2026, Tuesday
२०८३ बैशाख २२

आइपिएलको उद्घाटन खेलमा चेन्नईले बैंगलुरूलाई ६ विकेटले हरायो, शनिबार दुई खेल हुँदै

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को उद्घाटन खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ। गएराति चेन्नईको एमए चिदम्बरम स्टेडियममा भएको उद्घाटन खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरूलाई ६ विकेटले पराजित गरेको हो।

बैंगलुरूले दिएको १७४ रनको लक्ष्य चेन्नईले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। शिवम दुबेले ३४ र रविन्द्र जडेजाले २५ रन बनाएर नटआउट रहे।

दुबेले २८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दा १७ बल खेलेका जडेजाले एक छक्का हाने। त्यसअघि रचिन रविन्द्रले आक्रामक खेल्दै १५ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ३७ रन जोडे।

अजिंक्य रहाणेले १९ बलमा २ छक्का हानेर २७ रनको योगदान गरे भने ड्यारिल मिचेलले १८ बलमा दुई छक्का प्रहार गर्दै २२ रन बनाए। कप्तान रूतुराज गायकवाडले १५ बलमा ३ चौका प्रहार गर्दै १५ रनको योगदान गरे।

बलिङतर्फ क्यामरून ग्रीनले २ विकेट लिए भने कर्ण शर्मा र यश दयालले एकरएक विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको बैंगलुरूले ६ विकेट गुमाएर १७३ रन बनाएको थियो। मध्यक्रमका दुई ब्याटर रजत पाटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भएपछि खराब अवस्थामा पुगेको बैंगलुरूलाई अनुज रावत र दिनेश कार्थिकले खेलमा फर्काएका थिए।

रावतले २५ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४८ रन बनाएका थिए भने दिनेश कार्थिक २६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३८ रन बनाएर नट आउट रहे।

त्यसअघि कप्तान फाफ डु प्लेसिसले २३ बलमा ८ चौका प्रहार गर्दै ३५ रनको योगदान गरे। २० बल खेलेका विराट कोहलीले १ छक्का मात्रै हाने। उनले २१ रनमात्रै बनाउन सके।

त्यसपछि क्यामरून ग्रीनले १८ रनको योगदान गरेका थिए। बलिङतर्फ मुस्ताफिजुर रहमानले ४ विकेट लिए। उनले विराट कोहली, कप्तान डु प्लेसिस, रजत पाटिदार र क्यामरून ग्रीनलाई आउट गरेका थिए। खेलमा दिपक चाहरले पनि एक विकेट लिए।

प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल हुँदैछ। नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ। राति ७ः४५ बजे सुरु हुने दोस्रो खेलमा कोलकता नाइट राइडर्स र सनराइज हैदराबाद भिड्ने छन्।