April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

सुन प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका दीपेशलाई पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालबाट खटिएको विशेष टोलीले उनलाई शुक्रबार राजधानीको टोखाबाट पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालयले सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनाएको छ ।

२ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए । तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।

सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो । सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङसँग दिपेशको बाक्लो उठबस रहेको भेटिएको थियो ।