May 13, 2025, Tuesday
३० बैशाख २०८२, मंगलवार

उच्च अदालत दिपायलका रजिष्ट्रार कटवाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालत काठमाडौँले आइतबार कटवाललाई भ्रष्टाचारी ठहर गर्दै कैद सजायसमेत सुनाएको हो ।

विशेष अदालतले आज उनलाई रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै कैद तथा जरिवाना हुने सजाय सुनाएको विशेष अदालतका उपरजिष्ट्रार तथा प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिएका हुन ।

स्थायी शिक्षिका रहेकी आफ्नै श्रीमतीलाई कम्प्युटर अपरेटरको नियुक्ति दिई तलब बुझ्ने उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाल भ्रष्टाचारी ठहर भएको उनले बताए । उनले भने, ‘रकम हिनामिना गरी भ्रष्टाचार गरेको भेटिएकाले कटवाललाई नौ महिना कैद र चार लाख ९८ हजार नौ सय ९५ रुपैयाँ जरिवाना तथा बिगोबमोजिम रकम असुलउपरसमेत हुने फैसला भएको छ ।’

विशेष अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारु र रामबहादुर थापाको इजालसले कटवाललाई दोषी ठहर गरेको हो । कटवालले विभिन्न शीर्षकमा अदालतबाट करिब पाँच लाख रुपैयाँ हिनामिना गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ १६ गते मुद्दा दायर गरेको उपरजिष्ट्रार तथा प्रवक्ता कार्कील बताए ।

सार्वजनिक सम्पत्तिको हिनामिना गरेको कसुरमा अख्तियारले २०७९ भदौ १६ गते उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार कटवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।