April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम सरकारले लगानी तथा विकास सम्मेलनको सहयोगका लागि गर्‍यो प्रधानमन्त्रीसंग भेटवार्ता

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ संग भेटवार्ता गरेका छन् । बालुवाटारमा आज मुख्यमन्त्री कमल बहादुर शाह सहित प्रदेश सरकारका मन्त्रीहरुको टोलीले प्रधानमन्त्री दाहाललाई भेटवार्ता गरेका हुन् ।

प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले यहि फागुन २३ र २४ गते गर्न लागेको लगानी एवं विकास सम्मेलनको तयारी तथा प्रदेशका अन्य समस्याबारे जानकारी गराउन प्रधानमन्त्री प्रचण्डलाई भेटेको मुख्यमन्त्री शाहको सचिवालयले जानकारी दिएको हो।

सुदूरपश्चिम प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्री प्रकाश बहादुर देउवाका अनुसार यहि फागुन २३ र २४ गते गर्न लागेको लगानी एवं विकास सम्मेलनको बारेमा टोलीलाई आश्वस्त पार्दै प्रधानमन्त्री प्रचण्डले लगानी तथा विकास सम्मेलन फल पार्न सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले विकास तथा लगानी सम्मेलन सफल पार्न आवश्यक सम्पूर्ण सहयोग गर्ने आश्वस्त पार्र्दै मन्त्री परिषदको आगामि बैठकमा सो सम्बन्धमा औपचारिक रुपमा निर्णय गर्ने बताए ।

प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री शाहबीच भएको भेटघाट तथा छलफल कार्यक्रममा सुदुर पश्चिम प्रदेशका लगानीका क्षेत्र र सम्भावनाको पूर्ब तयारीका लागि संघीयय सरकार र प्रदेश सरकारसँग मिलेर कार्य गर्ने सहमती भएको बताईएको छ ।

प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री शाह सहितको टोलीले राखेका मागलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले  सुदुरपश्चिम प्रदेशमा ट्रान्समिशन लाईन निर्माणको कार्य अघि बढाउने प्रतिबद्धता गरे ।

त्यस्तै बेतन कर्णाली लगायत निर्माणाधीन र निर्माणका लागि तयार रहेका आयोजनाको निर्माणका लागि  लगानी कर्ताको पहिचान र सम्भाब्यताका  लागि संघीय सरकारले लगानी बोर्ड मार्फत आवश्यक प्रकृया अघि प्रधानमन्त्री प्रचण्डको आश्वासन थियो ।

प्रधानमन्त्री प्रचण्डले साउन २८ गते देखि बन्द रहेको प्लान्ट क्वारेण्टीन स्थापना गर्ने विषयमा मन्त्रीपरिषदको आगामि बैठकले औपचारिक रुपमा निर्णय गरी यथाशिघ्र कर्मचारी पठाउने बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा  भौतिक पुर्बाधार बिकास मन्त्री प्रकाश बहादुर देउवा, आर्थिक मामिला मन्त्री माननीय नरेश बहादुर शाही, सामाजिक बिकास मन्त्री माननीय झपट साउद, सभामुख माननीय भिम बहादुर भण्डारी, प्रदेश सभा सदस्यद्धय  खगराज भट्ट र ओम बिक्रम भाट सरल समेत सहभागी थिए ।

प्रधानमन्त्री प्रचण्डलाई भेटिसकेपछि मुख्यमन्त्री शाह, भौतिक मन्त्री देउवा र आर्थिक मामिला मन्त्री शाहीले संघीय सरकारका अर्थमन्त्री प्रकाश शरण महतलाई समेत भेटेका थिए। उक्त भेटमा पनि लगानी एवं विकास सम्मेलनमा संघीय सरकारले नीतिगत सहयोग गर्न प्रदेश सरकारले आग्रह गरेको थियो।

यस अघि सुदूरपश्चिम प्रदेश सरकारले लगानी एवं विकास सम्मेलनको लागि उद्योग वाणिज्य महासङ्घबीच लगानी सम्झौता गरिसकेको छ। यो सम्मेलन सुदूरपश्चिमको विकासको सम्भाव्यता पहिचान, पुँजी निर्माण र प्रदेशको समग्र विकासको कोशेढुंगा बन्ने प्रदेश सरकारले अपेक्षा राखेको छ।