April 18, 2026, Saturday
२०८३ बैशाख ५

कर आफनै लागि हो भन्ने बुझाउन जरुरी- प्रमुख सचिव लम्साल

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरि लम्सालले कर आफनै लागि हो भन्ने बुझाउन जरुरी रहेको बताएका छन् । बिहिबार बाह्रो राष्ट्रिय कर दिवस तथा कर सप्ताहको समापन कार्यक्रममा सो कुरा बताएका हुन ।

स्वस्थ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नारासहित शुरु भएको सप्ताहमा प्रमुख सचिव लम्सालले कर प्रशासनलाई विविधिकरण गर्दै लग्न जरुरी रहेको बताए । उनले राज्य सञ्चालनका लागि आदिमकाल देखि नै बिभिन्न स्वरुपमा करको व्यवस्था भएको बताए ।

कर तिरे वाफत नागरिकलाई राज्यले सेवा, सुबिधा र सुरक्षा दिने नीति उहिल्यैदेखि थियो, जतिबेला देशहरु बनिसकेका थिएनन, लम्सालले भने, आदिमकालमा बस्तु र अनाजलाई करका रुपमा शासकलाई बुझाउने प्रचलन थियो । पछि धनसम्पत्ती र पैसा बुझाउन थालियो । राज्य सञ्चालनका लागि कर अनिवार्य छ । र, करको दुरुपयोग गर्नु त्यतिबेला पनि पाप मानिन्थ्यो । अहिले पनि त्यो दण्डनीय अपराध हो ।

लम्सालले राज्य सञ्चालन गर्न कर लिइने र सोही करबाट विकास निर्माणमा लगाइने कुराको जानकारी सबैलाई दिन आवश्यक रहेको बताए । उनले भने –‘करबारे सर्वसाधारणलाई स्पष्ट बुझाउन सकिएको छैन् तर, राज्यबाट पनि कर लिएको अनुसार काम हुन सकेको छैन् ।’

प्रमुख सचिव लम्सालले सेवाग्राहीसंग सेवा प्रदायक(कर्मचारी) हरुको व्यवहार समधुर हुनु पर्ने बताए । उनले भने, सेवाग्राहीलाई सम्बोधन गर्ने, उनीहरुका कुरा सुन्ने बानीको अझै विकास भईसकेको छैन । यो अति आवश्यक छ ।

कैलाली भन्सार कार्यालयका प्रमुख राजेन्द्रकुमार हमालले करबाटै खानेपानी, विद्युत, सडक, कल्र्भट निर्माण लगायतका काम हुने बताए । उनले भने –‘कर राज्य संचालनको प्रमुख माध्यम हो । सोही करबाट जनताका आधारभुत मागहरु पुरा हुन्छन् । करले पनि राज्य संचालनमा समस्या आए अनुदान लगिन्छ ।’ उनले समयमै सबैले कर तिर्न जरुरी रहेको बताए । 

आन्तरिक राजश्व कार्यालयका प्रमुख मोहनराज बस्नेतले करदातालाई जनचेतना दिलाउन हरेक वर्ष सप्ताह कार्यक्रम गर्ने गरेको उनले बताए । उनले यस वर्ष चाडपर्वका कारण बृहत कार्यक्रम गर्न नसकिएको बताए । उनले भने –‘सप्ताहले करको महत्व र आवश्यकता बुझाउँछ । करमा सुधार गर्नुपर्ने पक्ष धेरै छ र सुधार गर्दै पनि गइरहेका छौं ।

यस्तै कर सप्ताह समारोहको अवसरमा व्यापार, वित्तिय, उद्योग र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यालयले ब्यापारतर्फ सुन्दर सुदूरपश्चिम टेडर्स, उद्योगतर्फ राजश्री फुड, वित्तियतर्फ किसान लघुवित्त वित्तिय सहकारी संस्थालाई सम्मानपत्रसहित सम्मान गरेको थियो भने कार्य सम्पादनमा उत्कृष्ट बनेका कार्यालयका नायव सुब्बा नारदप्रसाद भट्टलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो । सम्मानित व्यक्तिलाई प्रमुख सचिव लम्सालले दोसल्ला ओढाएर तथा प्रमाणपत्र वितरण गरेका थिए ।

आन्तरिक राजश्व कार्यालय कैलालीका अनुसार साउनदेखि कार्तिकसम्ममा एक हजार चार सय ८४ नयाँ करदाता थपिएका छन । कार्यालयले सो अवधिमा ६१ करदाताले स्थगन गराएको जनाएको छ ।

कार्यालयका कर अधिकृत मोहनराज भट्टले नयाँ करदातालाई करको दायरामा ल्याउने कार्य भइरहेको बताए । उनका अनुसार जिल्लामा सबैभन्दा बढी व्यक्तिगत स्थायी लेखा नम्बर लग्ने करदाताको संख्या बढी रहेको छ ।

कार्यालयका अनुसार एक लाख २३ हजार चार सय ८१ करदाताले स्थायि लेखा नम्बर लगेका छन । जिल्लामा ५८ हजार आठ सय ९२ व्यवसायीक करदाता रहेकोमा भ्याटमा आठ हजार एक सय ५९ जनाले दर्ता भएको उनको भनाई छ ।

कार्यालयले यस वर्षको अवधिमा तीन अर्व आठ करोड ४१ लाख २८ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा पाँच महिनाको अवधिमा ९७ दशमलब ६५ प्रतिशत राजश्व संकलन गरेको जनाएको छ ।

कार्यालयले अहिले प्रविधिमा जोड दिइरहेको उनको भनाई छ । उनले भने –‘आय विवरण घरबाटै अनलाईन भर्न सकिने र कर चुक्ता पनि घरबाटै प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ ।’