प्रधानमन्त्री प्रचण्ड र चीनका समकक्षी ली छ्याङबीच भेटवार्ता, के-के भयो कुराकानी ?

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको छ। यहाँको स्थानीय समयअनुसार बिहान ११ बजे ग्रेट हल अफ दि पिपलमा सो भेटवार्ता सुरु भएको हो।
सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाल–चीन सम्बन्धका विविध आयाममाथि प्रकाश पारे। उनले नेपाल–चीन सम्बन्ध सन् १९५५ मा औपचारिकरूपमा स्थापना हुनुभन्दा पहिले पाँचौं शताब्दीमा नै नेपाली बौद्ध भिक्षु बुद्ध भद्रले चीन भ्रमण गरेदेखि नै सुरु भएको उल्लेख गरे।
उनले यस भ्रमणका क्रममा आफ्नो प्रधानमन्त्रीको हैसियतमा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भई नयाँ समझदारी निर्माण गरेको आफूले महसुस गरेको बताए।
प्रधानमन्त्री दाहालले यस पटकको भ्रमण फलदायी भएको र दुई देशबीचको सम्बन्ध नयाँ उँचाइमा पुग्ने विश्वास व्यक्त गरे। उनले ‘एसियन गेम्स’ को सफलतापूर्वक आयोजना गरेकोमा चीनलाई बधाई ज्ञापन गरे।
त्यसैगरी अध्यक्ष चाओले दुई देशबीचको सम्बन्ध समानता आधारित रहेको चर्चा गर्दै नेपाल–चीन पञ्चशीलतामा आधारित परराष्ट्र नीतिलाई सम्मान गर्ने स्पष्ट पारे।
चिनियाँ राष्ट्रपति सी चिनफिङले यस भ्रमणलाई महत्व दिएको र यस भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ भएको उनले बताए। अध्यक्ष झाओले नेसनल पिपल अफ कंग्रेस र नेपालबीचको सम्बन्ध विस्तार र सहकार्य गर्न सदैव तयार रहेको उल्लेख गरे।
यसअघि प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए। उनीहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको छ।
सो भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको छ। भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ।











प्रतिकृया दिनुहोस्