एसिया कपमा आज नेपालले आज भारतको सामना गर्दै

काठमाडौँ । एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि पहिलोपटक भारतको सिनियर टिमसँग खेल्न लागेको हो।
नेपालका लागि आज अत्यन्त महत्वपूर्ण र ऐतिहासिक खेल हुनेछ। भारतको भने एसिया कपमा यो १५औँ सहभागिता हो । श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे खेल सुरू हुनेछ। प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र भारतको आजको खेल समूह चरणको अन्तिम खेल हो।
आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा आसिन छ भने नेपाल १५औँ वरीयतामा रहेको राष्ट्र हो । यसका अतिरिक्त भारतले हालसम्म सर्वाधिक सात पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ । भारत दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियन पनि हो ।
समूहबाट पाकिस्तानले ३ अंक जोडेर सुपर-फोरमा स्थान पक्का गरिसकेको छ। अब नेपाल र भारतबीचको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ।
१६औं एसिया कपमा यसअघि नेपाली टोली आफ्नो पहिलो खेलमा आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । पाकिस्तान पछिल्लो आईसीसी एकदिवसीय वरीयताको पहिलो स्थानमा रहेको राष्ट्र हो ।
नेपाल र भारतबीचको खेलसँगै समूह ‘ए’ को सबै खेल सकिने छ । हाल समूह ‘ए’ तालिकामा दुई खेल खेलेको पाकिस्तान चार अंकसहित पहिलो स्थानमा छ । पाकिस्तान र भारतबीच शनिबार खेलिएको खेल भने वर्षाका कारण रद्द भएको थियो ।
तालिकामा एक अंकसहित भारत दोस्रो स्थानमा आसिन छ । तेस्रो स्थानमा रहेको नेपालले भने हालसम्म खाता खोल्न सकेको छैन । त्यसैले सोमबार हुने नेपाल र भारतबीचको खेल दुबै टोलीका लागि निकै महत्त्वपूर्ण रहेको छ ।
पाकिस्तान यसअघि नै प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगिसकेको छ । अब समूह ‘ए’ बाट नेपाल र भारतमध्ये एक टोलीमात्र ‘सुपर फोर’ चरणमा पुग्नेछ । प्रत्येक समूहबाट माथिल्लो स्थानमा रहने दुई-दुई टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्ने प्रावधान छ ।
नेपाल र भारत यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा भिडेका थिएनन् । नेपालले बलियो टेस्ट राष्ट्रसँग एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको नै यही एसिया कपमा हो । एसिया कपको उद्घाटन खेलमा नेपाली टोली पहिलो पटक पाकिस्तानसँग भिडेको थियो ।
पहिलो पटक एसिया कप खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित पौडेलको नेतृत्वमा १७ सदस्यीय टोलीको घोषणा गरेको छ । घोषित टोलीमा आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल छन् । नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देशाई रहेका छन् ।
यसैगरी भारतीय टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इशान किसन, हार्दिक पाण्डेया, रविन्द्र जडेजा, सार्दुल ठाकुर, कुलदिप यादब, मोहम्मद सामी, जसप्रित बुमराह, मोहम्मद सिराज, अक्सर पटेल, सूर्यकुमार यादब, प्रसिद्ध कृष्ण, तिलक वर्मा र केएल राहुल रहेका छन् । केएल राहुल भने घाइते समस्याका कारण टोलीबाट बाहिरिइसकेका छन् ।





प्रतिकृया दिनुहोस्