November 3, 2024, Sunday
१८ कार्तिक २०८१, आईतवार

अछामको वैद्यनाथ धाममा गुठीको जग्गा विवाद, स्थानीय उत्रिए विरोधमा

अछाम । धार्मिक पर्यटकीय क्षेत्र अछामको वैद्यनाथ धाममा गुठी जग्गाको विवाद चर्किएको छ । साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका बासिन्दाले आफूले भोगचलन गर्दै आएको जग्गा सरकारले हडपेको भन्दै प्रदर्शन सुरु गरेका छन् ।

स्थानीयले भोगचलन गरिरहेकै भए पनि जग्गा गुठीकै भएको दाबी सरकारीस्तरबाट छ । साँफेबगर नगरपालिका-१ र ९ सँगै चौरपाटी गाउँपालिका–४ का विभिन्न स्थानमा भएका जग्गा गुठीले आफ्नो स्वामित्वको दाबी गर्दै आएको छ । यहाँका १ सय ७१ जनाका लालपुर्जामा जग्गाधनीमा व्यक्तिको नाम छ, तर ती लालपुर्जाको शीर्ष स्थानमा बैद्यनाथ धाम गुठी पनि लेखिएको छ ।

बैद्यनाथ धाम गुठीको नाममा १८५२ सालमा राजा रणबहादुर शाहबाट लगाइएको लालमोहर अनुसार ३ गाउँ र ९ खेत ४० मुरी माटो (करिब एक हजार रोपनी जग्गा) रहेको इतिहास छ ।

बैद्यनाथ धाम गुठीले आफ्नो जग्गा अतिक्रमण भएको भन्दै फिर्ता लिने तयारी गरेपछि स्थानीयवासी शनिबारदेखि आन्दोलित भएका हुन् । २०५८ सालअघि बनेका लालपुर्जाको शीर्ष स्थानमा बैद्यनाथ धाम गुठी भनेर लेखिदिएपछि आफ्नो जग्गालाई हडप्न खोजेको चौरपाटी गाउँपालिका–४ का लोबबहादुर बोहराले बताए । ‘हुनेखाने वर्गले त्यतिबेला गुठीको जगा आफ्नो नाममा गरे । किर्ते कागजात बनाएर हाम्रो जग्गा हडप्न खोजियो,’ उनले भने ‘हाम्रो भएभरको सबै जग्गा, घर भएको जमिन पनि गुठीले आफ्नो हो भनेर हडप्न खोज्यो । हाम्रो बाबुबाजेको नाममा लालपुर्जा छ । तर लालपुर्जाको माथिल्लो भागमा गुठी लेखिदिएको छ ।’ उनका अनुसार १७१ लालपुर्जा मा सयौं कित्ता जमिन छ । ‘बैद्यनाथ धामका संरक्षक हामी हौं । तर सरकारले हामीलाई जबरजस्ती सुकुम्बासी बनाइरहेको छ,’ उनले भने ।

सरकारले गुठीमा रहेको आफ्नो जग्गा लिने थाहा पाएपछि बैद्यनाथ मन्दिर अगाडि आन्दोनमा सहभागी हुन आएकी साँफेबगर नगरपालिका–१ की ७० वर्षीया गुमा भुलले पटक–पटक सरकारले आफ्नो जग्गा हो भन्दै सताएको बताइन् । ‘मेरो सम्झनाभरी आजका मितिसम्म हामीले यही घर जग्गामा बसिरहेका छौं । लालपुर्जा पनि छ । तर अब सबै सरकारले लिने भभएपछि हाम्रा सन्तानको विचल्ली हुने भयो,’ उनले भनिन् ‘अहिले सबै एकै ठाउँमा आएर बोलिरहेका छन् । सरकारले हाम्रो कुरा सुनिदेओस् भन्ने हो ।’

गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौंले विभिन्न व्यक्तिहरूले आफ्नो भनी दाबी गर्दै आइरहेको जग्गा गुठीको रहेको फैसला गरिसकेको छ । तर आफ्नो व्यक्तिगत जग्गासमेत गुठीमा परेको भन्दै स्थानीय पटक–पटक गुठी संस्थानको कार्यालय काठमाडौं धाउने गरेका छन् । ‘हाम्रो व्यक्तिगत जग्गा गुठीमा परेको भन्दै पैसा उठाएर भएपनि हामी धेरैपटक गुठी संस्थानको केन्द्रीय कार्यालयमा पुग्यौं । तर पनि हाम्रा कुरालाई कसैले सुनिदिएनन्,’ स्थानीय चक्रनाथ योगीले भने, ‘१० कित्ता जग्गा भएको लालपुर्जा मेरो बुवाको नाममा छ । यो जग्गा ३ दाजुभाइको अंश पनि लाग्ने हो । सरकारले आफ्नो हो भन्दै हामीलाई अनावश्यक दुःख दिइरहेको छ ।’ पिर टिकेनाथको नाममा दर्ता भएको १७ कित्ता जग्गा मात्र राजगुठीको रहेको उनले दाबी गरे । उनका अनुसार १ सय ७१ जना गुठीयारहरूले आफ्नो व्यक्तिगत जग्गा भएको दाबी गर्दै आएका छन् । उनका अनुसार शनिबारदेखि यहाँका स्थानीयले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । वैद्यनाथ धाम परिसरमा भेला भएका उनीहरुले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

बैद्यनाथ धाम गुठीका अनुसार १९८६ सालमा भएको नापीमा मन्दिरको नाममा एक हजार रोपनी जग्गा रहेको देखाएको थियो तर, अहिले गुठीका नाममा १ सय ३७ रोपनी जग्गा मात्र छ । तीन वर्ष पहिले सरकारी, सार्वजनिक, गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले गुठीको जग्गा अतिक्रमण भएको प्रतिवेदन सार्वजनिक गरेपछि जग्गा गुठीको नाममा लैजाने प्रक्रिया सुरु भएको हो । अहिले गुठीको ८ सय ६२ रोपनी ३ पैसा जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ ।

गुठीमा देखिएको जग्गा व्यक्तिको भएको अवस्थामा नीतिगत निर्णय गरेर नै सरकारले निर्णय गर्नुपर्ने वैद्यनाथ धाम गुठीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले बताए । ‘जग्गा व्यक्तिकै हो भने पनि यहाँको अवस्थालाई सरकारसामु पुर्याउने काम हाम्रो हो । नीतिगत निर्णय माथिबाटै हुन्छ ।’ उनले भने ।

गुठी एक परोपकारी र सामाजिक संस्था भएका कारणले गुठीको सम्पत्तिलाई सामाजिक रुपमा उपभोग गर्न र लगानी गर्न सक्ने व्यवस्था कानुनले गरेको छ । मुलुकी देवानी संहिता, २०७४ को दफा ३२३९३० अन्तर्गत गुठीको उद्देश्य पूरा गर्न तत्काल आवश्यक नपर्ने सम्पत्तिबाट प्राप्त भएको आर्जन वापतको रकम गुठीको उद्देश्य पूरा गर्न लगानी गर्न सकिनेछ भनि उल्लेख गरेको छ । त्यसरी लगानी गर्दा लगानी गर्ने कुल रकमको अनुपात भने कानुनले नै तोकिएको हुन्छ । यसको अर्थ गुठीको जग्गा कुनै व्यक्तिले किन्ने वा लगानी गर्ने नभई गुठीले नै स्वयं लगानी गर्ने हो र यसको प्रतिफल समेत गुठीले नै प्राप्त गर्दछ । कान्तिपुरबाट