May 5, 2026, Tuesday
२०८३ बैशाख २२

कोशीका मुख्यमन्त्री थापाविरुद्ध परेको रिट ‘हेर्न नमिल्नेमा’

काठमाडौं । कोशी सरकारविरुद्धको रिटमा आज निर्धारित सुनुवाइ स्थगित भएको छ । आज यो रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा परेको थियो ।

तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको हो । प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उनले मुद्दा हेर्न अस्वीकार गरेका हुन् ।

उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीध खतिवडाले कारणदेखाउ आदेश जारी गरेका थिए । आज पनि खतिवडासहितकै इजलासमा पेसी तोकिएपछि उक्त रिट निवेदन ‘हेर्न नमिल्ने’ सूचीमा परेको हो । भदौ ७ गते दिएको अन्तरिम आदेशपछि इजलासबाट भदौ १५ गतेका लागि पेसी तोकिएको थियो ।

मुख्यमन्त्री उद्धव थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोेच्चमा रिट दर्ता गराएका थिए । विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी रिट निवेदनमा गरिएको छ ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गर्ने व्यक्ति इस्राइल मन्सुरी र गीता तिम्सिनाले समेत मत दिएका थिए । विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान भइरहेका बेला मन्सुरीले सभाको अध्यक्षता गरेका थिए । मतदान र मत सच्याउने समय पनि सकिएपछि मन्सुरीले सभाको अध्यक्षता गर्न तिम्सिनालाई बोलाएर आफू मतदान गर्न गएका थिए । उनीहरुले समेत दिएको मतको आधारमा थापाले ९३ सदस्यीय प्रदेशसभामा बहुमत प्रदेशसभा सदस्य अर्थात ४७ जनाको समर्थन पाएका थिए ।

सर्वोच्चले भने त्यसलाई गैरसंवैधानिक नभनेपछि कोशी सरकार कामचलाउ बनेको छ ।