प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता

काठमाडौँ । आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । शनिबार काठमाडौंस्थित भारतीय दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता भएको जानकारी दिएको हो।
दुबै देशका प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा नेपाल–भारतबीच आपसी हितका विविध विषयमा समीक्षा गरिएको थियो । छलफलमा दुबै देशका प्रधानमन्त्रीले नेपाल भारतको आपसी सहयोगका विभिन्न पक्षहरूको समीक्षा गर्नुका साथै द्विपक्षीय साझेदारीलाई अगाडि बढाउन र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सहमत हुनु भएको दूतावासले जनाएको छ।
यसक्रममा प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न भारत भ्रमणको क्रममा भएका छलफललाई र सहमतिको स्मरण गर्दै त्यसको कार्यान्वयनका पक्षमा जोड दिइएको थियो । भारतीय प्रधानमन्त्रीसँगको टेलिफोन वार्ताले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिइएको छ ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका छलफलका विषयमा पनि उनीहरूले कुराकानी गरेका छन्। प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि जेठ २० गतेसम्म भारत भ्रमणमा थिए।





प्रतिकृया दिनुहोस्