April 30, 2026, Thursday
२०८३ बैशाख १७

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, बिहीबार जिल्ला सभापतिसँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले असार २७ गतेदेखि सुरू हुने गरी केन्द्रीय समिति बैठक बोलाएका हुन्।

देउवा निवास धुम्बाराहीमा बुधबार सभापति, उपसभापति र महामन्त्रीहरूबीच भएको बैठकले केन्द्रीय समिति बैठक आह्वान गर्ने समझदारी गरेका हुन्।

कांग्रेस कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले असार २७ गते बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्ने जानकारी दिएका छन्।

कांग्रेसले गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक राखेको थियो। विधानअनुसार प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने हुन्छ। केन्द्रीय समिति ठूलो भएको र तत्कालै बैठक बस्न असम्भव रहने भन्दै कांग्रेसले महत्वपूर्ण निर्णय पनि केन्द्रीय कार्यसम्पादन समितिमार्फत गर्दै आएको थियो।

कांग्रेसले गत मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको समीक्षासमेत गरेको छैन। असार २७ देखि करिब एक सातासम्म केन्द्रीय समिति बैठक चल्ने‍छ।

साथै जिल्ला सभापति बैठकलगायत विभिन्न विषयमा पनि आजको बैठकमा नेताहरूबीच छलफल भएको थियो।

साधारण र क्रियाशील सदस्यता, विभिन्न तहका सम्मेलनलगायत विभिन्न विषयमा कांग्रेसले बिहीबार जिल्ला सभापतिहरूसँग केन्द्रीय कार्यालय सानेपामा छलफलसमेत गर्दैछ।

कांग्रेसले क्रियाशील सदस्यता वितरणका लागि जिल्लामा फारमसमेत पठाइसकेको छ।