अल्लोमा व्यवसायिकता खोज्दै सायल

डोटीः डोटीको सायल गाउँपालिका खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खप्तडसँगै जोडिएको पालिका भएकाले यहाँको अधिकांश भुभाग पनि लेकाली क्षेत्रले समेटिएको छ ।
लेकाली क्षेत्र बहुल्यता भएकै कारण सायलमा जताततै मध्यपहाड र उच्च पहाडमा पाइने सबैजसो वनस्पतीहरू पाइन्छन् । यस्तै वनस्पतीहरूमध्येको एक हो, अल्लो । सायलका वनहरूमा मात्रै खेतबारी, पाखो जमिन घरआँगन जहीँतहीँ अल्लो आफै उम्रिने गरेको सायल गाउँपालिका–३ का वडाध्यक्ष नवराज उपाध्याय वताउँछन् । यसरी उम्रिने अल्लोलाई लोक्ताका रुपमा स्थानीयले वर्षौदेखि प्रयोग गर्दैआएका छन् ।
‘यहाँ उम्रिने अल्लोमध्ये केही मात्रामा प्रयोग डोरा नाम्ला बनाउन, गाईभैँसी बाँध्ने दाम्लोहरू वनाउन प्रयोग हुँदैआएको छ,’ वडाध्यक्ष उपाध्यायले भने,‘बाँकी सबै अल्लो आफै मरेर खेर जान्छ ।’
सायलमा जताततै यसरी खेर गइरहेको अल्लोको बाहिर नेपाली बजार र अन्तर्राष्ट्रिय बजारमा भने उल्लेख्य माग छ । प्रशोधित अल्लोको धागोबाट बन्ने कपडा निकै महंगो मूल्यमा विक्रि हुन्छ ।
‘बजारमा महंगो मूल्य पाउने करोडौंको अल्लो हाम्रो घरआँगन र वनहरूमा वर्षेनी खेर गइरहेको हुन्छ । आफ्नै आँगनमा यस्तो करोडौंको सम्भावना कुहाँएर हाम्रा दाजुभाई केही हजार कमाउन भारत जानुपर्ने बिडम्वना छ,’ सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी भन्छन्, ‘यस्तो परिवेशमा सायल खेर गइरहेको यही अल्लोमा व्यवसायिकता खोजेर केही आशा जगाउन सकिन्छकी भनेर हामीले प्रयास थालेका छौं ।’
अध्यक्ष जोशीका अनुसार पहिलो चरणमा केही विपन्न र भारतको रोजगारीमा निर्भर परिवारलाई अल्लो प्रशोधन र व्यवसायिक तालिम प्रदान गरेर चाहिने उपकरण प्रदान गरेर सम्भावना पहिचानको काम सुरू भएको छ ।
यसक्रममा १२ जना महिला र ६ जना पुरुषलाई २१ दिने तालिम प्रदान गरिएको छ । सायल गाउँपालिका वडा नम्बर ३ का विपन्नलाई लक्षित गरेर चलाइएको तालिममा ७ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ । जसमा प्राविधिक सहयोग भने जिआइजेटले गरेको छ ।
‘तालिम सँगसँगै अल्लोको धागो बनाउने, कपडा बुन्ने दुईवटा मेसिन पनि उपलब्ध गराइएको छ । लघु उद्योगको लागि घर पनि निर्माण गरिँदै छ,’ गाउँपालिका अध्यक्ष जोशीले भने,‘उहाँहरूको कामलाई अझैँ सघाउ पु¥याएर बजारीकरण गर्नमा पनि गाउँपालिका सहयोग गर्नेछ ।’ यसरी प्रारम्भिक रुपमा थालिको कामबाट अन्य स्थानीयबासी पनि आकर्षित भइ खेर गइरहेको अल्लो उपयोग भएर व्यवसायिकीकरण होस् भन्ने गाउँपालिकाको चाहना रहेको उनले बताए । ‘उहाँहरुले राम्रो गरेर आम्दानी भए अन्य विपन्न स्थानीयबासी पनि आकर्षित होउन र भारतको कमाइमा निर्भर युवा पनि घर फर्किएर गाउँमै आम्दानीका बाटा खोजुन् भन्ने चाहना छ । यसका लागि यस्तै ससाना कामबाट अभियान थाल्दैछौं,’ अध्यक्ष जोशीले भने ।
अल्लोमै व्यवसायिकता खोज्ने हो भने पनि सयौं परिवारका लागि अल्लो रोजगारीको माध्यम बन्नसक्ने वडाध्यक्ष उपाध्यक्ष बताउँछन् । ‘पालिकाकै भुगोलभित्र मात्रै करोडौंको अल्लो खेर जान्छ । त्यो मात्र नभई खप्तडबाट पनि अल्लो निकासी गर्नसक्ने अवसर छ । यसैले यसैमा काम गर्न चाहे केहीसय परिवार सहजै स्वरोजगार हुनसक्छन्,’ उनले भने ।
प्रतिकृया दिनुहोस्