May 5, 2026, Tuesday
२०८३ बैशाख २२

क्यानले पाँच कार्यसमिति सदस्यलाई स्पष्टीकरण सोध्ने, चित्त बुझ्दो जवाफ नआए निलम्बन गर्ने

सुर्खेत। नेपाल क्रिकेट संघ (क्यान) ले पाँच जना कार्यसमिति सदस्यलाई स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण चित्त बुझ्दो जवाफ नआए निलम्बन गर्न केन्द्रीय कार्यसमितिलाई निर्देशन समेत दिएको छ ।

सोमबार सुर्खेतमा सम्पन्न साधारण सभाले क्यानका निर्वाचित केन्द्रीय सदस्यहरू सञ्जयराज सिंह, मो. दाउद अन्सारी, ऋषिराम गौतम, अमितवीर पाण्डे र करण महतारा क्षेत्रीलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको हो ।

उनीहरूलाई विधानविपरित संघको विरूद्धमा पत्रकार सम्मेलन गरेको र साधारणसभामा अनुपस्थित भएको आरोप लगाइएको छ।

यसअघि पाँच केन्द्रीय सदस्यसहित राखेपबाट प्रतिनिधि भएर केन्द्रीय सदस्य बनेका छुम्बी लामा र धर्मराज गिरीले नेपाल टी-२० लिग भारतीय कम्पनीलाई दिएर क्यानले ऐनविपरित काम गरेको भन्दै अध्यक्ष चतुरबहादुर चन्दसहित तत्कालिन कार्यवहाक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यद्वय दुर्गाराज पाठक र पदम खड्काको राजीनामा मागेका थिए।

साथै कार्यवहाक सचिव नियुक्ति प्रक्रिया विधान विपरित भएको र टी-२० लिगमा भएको स्पट फिक्सिङमा क्यान नेतृत्व पनि दोषी रहेको भन्दै राष्ट्रिय खेलकुद परिषदमा कारबाहीका लागि निवेदन दिएका थिए।

साधारणसभाले पाँच जना केन्द्रीय सदस्यबाट चित्त बुझ्दो जवाफ नआए निलम्बन गर्न केन्द्रीय समितिलाई अधिकार दिएको छ। यस्तै क्यानले खेलकुद परिषदमा दिएको निवेदनमा समर्थन गरेको भन्दै बागमति प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्नेतलाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

साधारणसभाले आगामी साउन मसान्तभित्र जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन पनि केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

नेपाल टी-२० लिगको आयोजनाका लागि सम्झौता भएको भारतीय कम्पनी सेभेन थ्री प्रालिका प्रमुख जतिन अहुवालिया नै फिक्सिङम संग्लन रहेको भन्दै सम्झौता रद्द गर्ने निर्णय भएको छ। साथै क्यानलाई सेभेन थ्रीले दिनु पर्ने रकम प्राप्त गर्नका लागि कानुनी प्रक्रिया अघि बढाउने पनि साधारणसभाले निर्णय गरेको छ।