डाक्टरमाथि कुटपिट विरोधमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

काठमाडौं । नेपाल चिकित्सक संघले देशैभरका अस्तालमा आकस्मिक सेवाबाहेक अन्य सम्पूर्ण सेवा आजका लागि बन्द गरेको छ। प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका चिकित्सक जनिथलाल सिंह घाइते भएका थिए।
संघका आजीवन सदस्यसमेत रहेका राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. सिंहलगायतमाथि प्रहरीले माघ २७ गते लाठीचार्ज गरी घाइते बनाएको घटनाप्रति विरोध गर्दै संघले आइतबार देशैभरका अस्पताल र स्वास्थ्य संस्थाका सेवा बन्द गरेको हो।
भीभीआइपीको सुरक्षाका नाममा प्रहरीले स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकलाई आक्रमण गरी गम्भीर घाइते बनाइनु र स्वास्थ्य सेवा लिन आइरहेका हजारौं बिरामीलाईसमेत अस्पताल पुग्न नदिएर अलपत्र पार्ने अवस्था सिर्जना गरिएकोप्रति नेपाल चिकित्सक संघले विज्ञप्ति निकालेर विरोध गरेको छ।
‘आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरिएको छ,’ संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
चिकित्सक संघले विधि र विधान स्थापित गर्न उठाएको यो कदमलाई साथ र समर्थन गर्न संघले देशैभरका नागरिकहरूलाई आग्रहसमेत गरेको छ। भीभीआइपी सवारीका नाममा नागरिकलाई सास्ती दिने, अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने र घणटौं जाम गरेर दैनिक जीवनयापनमा अत्यन्तै असहज परिस्थिति सिर्जना गर्नु न्यायोचित नहुने नेपाल चिकित्सक संघको भनाइ छ।
शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी बानेश्वरस्थित संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्न गएकी थिइन्। सम्बोधन गरेर फर्किने क्रममा बाटो खाली गराइएको थियो। त्यही बेला वीर अस्पतालबाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए।
बाटो खाली गराइएको बेलामा हिँडेको भन्दै प्रहरीले सिंहलाई कुटपिट गरेको हो। उनको टाउकोमा चोट लागेको छ।
घटनाको विरोधमा त्यहाँका चिकित्सकहरूले प्रर्दशन गरिरहेका थिए। ट्रमा सेन्टर अगाडिको सडकमा चिकित्सकहरूले प्रर्दशन गर्ने क्रममा चिकित्सक र प्रहरीबीच भनाभन पनि भएको थियो। सडक पनि केहीबेर अवरूद्ध भएको थियो।






प्रतिकृया दिनुहोस्