कसले जित्ला यसपालिको फूटबल विश्वकप ?

एजेन्सी । कतारमा भइरहेको फूटबल विश्वकप धेरै अर्थमा यादगार भएको छ । यसमा घागडान मानिएका जर्मनी र बेल्जियम जस्ता टीमहरू समूह चरणबाटै बाहिरिएका छन् । अनि साउदी अरबले अर्जेन्टिनालाई, क्यामरूनले ब्राजिललाई र जापानले जर्मनीलाई हराएर अनपेक्षित प्रदर्शन गरेका थिए ।
अब प्रतियोगितामा आठवटा मात्र टीम बाँकी छन् । डिसेम्बर १८ मा हुने फाइनलमा कसले ट्रफी उचाल्ला भनी अनुमान गर्न गाह्रो छ ।
दक्षिण अमेरिकाका दुई टोली ब्राजिल र अर्जेन्टिना गजबको फर्ममा छन् । फूटबल जगतका महान् खेलाडी लियोनल मेसीको यो अन्तिम विश्वकप हो र ट्रफी उचालेर उनलाई भव्य बिदाइ गर्ने सोच अर्जेन्टिनीहरूले बनाएका छन् । मेसीले विश्वकप जितेमा उनी डिएगो म्याराडोनासँगै देशका अमर खेलाडीका रूपमा दर्ज हुनेछन् ।
मेसीले कतारमा जादूयी खेल देखाएका छन् । भरे राति नेदरल्यान्ड्सले अर्जेन्टिनाविरुद्धको खेलमा मेसीलाई रोकेर राख्ने रणनीति बनाएको हुनुपर्छ ।
उता ब्राजिलले पनि विपक्षी टोलीहरूलाई कडै चुनौती दिइरहेको छ । ब्राजिली खेलाडीहरूले शानदार फूटबल प्रदर्शन गर्दै निकै सुन्दर गोल गरेका छन् ।
रिचार्लीसनले गरेको गोल प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक सुन्दर गोल हो । अनि ब्राजिलका सुपरस्टार नेयमार पनि चोटपछि खेलमा फर्केका छन् ।
सन् २०१८ को विश्वकपको उपविजेता क्रोएसियालाई ब्राजिलले हलुका रूपमा लिन मिल्दैन । लुका मोड्रिचको नेतृत्वमा रहेको क्रोएसियाले सुन्दर खेल नदेखाइरहेको भए पनि लगातार जितिरहेको छ ।
उता साबित विजेता फ्रान्स आफ्ना सर्वाधिक खतरनाक खेलाडी किलियन एम्बाप्पेको शक्तिका साथ फेरि विश्वकप ट्रफी उचाल्न सक्ने छाँट देखाइरहेको छ । एम्बाप्पेले प्रतियोगितामा पाँच गोल गरेर आफूलाई गोल्डेन बूटको दाबेदार बनाएका छन् । क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग फ्रान्सको भिडन्त निकै रोचक हुनेछ ।
इंग्ल्यान्डले ठूला प्रतियोगिताहरूमा माथिसम्म पुग्ने तर उपाधि नजित्ने गर्दै आएको छ । उसले प्रमुख प्रतियोगिता नजितेको ५० वर्ष भइसकेको छ । इरान र सेनेगलविरुद्ध भव्य प्रदर्शन गरेर इंग्ल्यान्डले आफ्नो दम देखाइसकेको छ तर फ्रान्स जस्तो बलियो विपक्षीलाई हराउन उसका लागि फलामको च्यूरा चपाएसरी हुनेछ ।
पोर्चुगलको कुरा गर्नुपर्दा राउन्ड अफ १६ मा उसले स्विट्जरल्यान्डलाई ध्वस्त बनाएर आफू गजबको फर्ममा रहेको प्रमाणित गरेको छ । सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्दा पोर्चुगलका युवा खेलाडीहरूले मौका पाएर टीमलाई थप गतिमान बनाएका हुन् ।
क्वार्टरफाइनलमा अफ्रिकाको एक मात्र टोली मोरक्को पुगेको छ र उसलाई पोर्चुगलले हलुकामा लिन मिल्दैन । स्पेनलाई राउन्ड अफ १६ मा हराएर उच्च मनोबल बनाएको मोरक्कोको डिफेन्स निकै बलियो छ । उसका थप समर्थकहरू कतार आएर उसको हौसला बढाइरहेका छन् ।





प्रतिकृया दिनुहोस्