May 4, 2026, Monday
२०८३ बैशाख २२

समानुपातिकको मतगणना सकियो : सात पार्टी बने राष्ट्रिय दल, नेकपा एस भने बनेन

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फको मतगणना सकिएको हो ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा सात दलले कुल सदर मतको ३ प्रतिशत कटाएका छन् । थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत कटाउन सात दल सफल भएका हुन् ।

सहायक प्रवक्ता भुसालले भने- “मतगणना सम्पन्न भएको छ । आयोगको वेबसाइटमा राखिएको मत नै अन्तिम मत हो,” उनले भने,“ केही जिल्लामा कतै छुटपुट भेटिए भने छुट्टै कुरा हो । एक करोड ५ लाख ६० हजार ६७ मत नै कुल मत हो ।”

अन्तिम मत परिणामअनुसार सात दलले कुल सदर मतको ३ प्रतिशत कटाएका छन् । थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत कटाउन सात दल सफल भएका हुन् ।

जसमा नेकपा एमालेबाट विभाजन भएको दल एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न असफल भएको छ । १० सिट प्रत्यक्षमा जिते पनि उसले समानुपातिकमा सदर मतको ३ प्रतिशत मत पाउन सकेन । उसले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गर्दा राष्ट्रिय दल बन्नका लागि १८ हजार ४११ मत अपुग भएको आयोगको तथ्यांकले देखाउँछ ।

राष्ट्रिय दल बनेका सात दलले पाएको मत

समानुपातिकतर्फ निर्वाचन आयोगको तथ्यांक अनुसार एमाले पहिलो दल बनेको छ । जबकि प्रत्यक्षतर्फ भएको निर्वाचनमा भने एमालेले ४४ सिट प्राप्त गर्दै दोस्रो स्थानमा चित्त बुझाउनुपरेको छ । उसले समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत एमालेले पाएको आयोगले जनाएको छ ।

प्रत्यक्षमा ५७ सिट जित्दै पहिलो दल बनेको नेपाली कांग्रेस भने समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको आयोगको तथ्यांकले देखाउँछ । उसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको हो ।

जुन एमाले भन्दा एक लाख ३० हजार ४१६ ले कम मत हो । त्यस्तै, माओवादी केन्द्रले समानुपातिकर्फ ११ लाख ७५ हजार ६८४ मत पाएको छ ।

चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ । जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३ मत प्राप्त गरेको छ । जनमत पार्टीले ३ लाख ९४ हजार ५६६ मत पाएको छ ।

सबै दलले पेश गरेको बन्दसूचीबाट हरेक कलस्टरको पहिलो तथा दोस्रो नम्बरमा रहेका व्यक्ति नै पहिलो प्राथमिकतामा पर्नेछन् । यद्यपी संघीय संसदमा महिलाको सहभागिता ३३ प्रतिशत अनिवार्य गरिएका कारण प्रत्यक्षतर्फबाट ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पुर्याउनका लागि पहिलो तथा दोस्रो नम्बरमा पुरुषको नाम भएको अवस्थामा जति पछाडी भए पनि पहिलो र दोस्रो नम्बरमा रहेका महिला पहिलो प्राथमिकतामा पर्नेछन् ।

आयोगले समानुपातिकतर्फको हिसावकिताव गरेर सिट संख्या निर्धारण गरेपछि अन्तिम बन्दसूचीमा रहेका उम्मेदवारबाट नाम छ्नोट गर्न दललाई तीन दिनको समय दिएर पत्र पठाउने आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए ।

यसका लागि आयोगले निर्देशिकासमेत संशोधन गरिसकेको छ । यस अघि निर्देशिकामा प्रदेशसभातर्फ दलले नाम पठाउन ७ दिनको समय रहेकोमा संशोधन गरेर प्रदेश र प्रतिनिधि सभा दुबैको तीन दिनमा पठाइसक्ने व्यवस्था गरेको हो । प्रतिनिधिसभातर्फ यस अघि नै नाम छनोट गरेर पठाउने समय तीन दिन थियो ।

निर्देशिका अनुसार राजनीतिक दलले ३ दिनको समय लगाएर पठाएको नाम सच्याउन चाहेमा थप दुई दिन समय लिन सकिने छ । आयोगका अनुसार दलले अन्तिम बन्दसूचीमा नाम भएका उम्मेदवारमध्येबाट समावेशी समूहको प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम छनोट गरी केन्द्रीय समितिबाट निर्णय गराएर तीन दिनभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउनुपर्नेछ ।

दलले बन्दसूचीबाट समयमै नाम छनोट गरी पठाए लगत्तै यसै महिना भित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन बुझाउने निर्वाचन अयाोगको तयारी छ ।