प्रत्यक्ष उम्मेदवारहरुको नामावली प्रकाशन आज, अन्तिम नामावली भोलि

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको नामावली आज प्रकाशन हुँदैछ । आउँदो मंसिर ४ गते हुने प्रत्यक्षे निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन हसने भएको हो ।
निर्वाचन आयोगले आज बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने जनाएको हो । यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी कार्यक्रम तोकिएको छ ।
हिजो उम्मेदवार विरुद्ध उजुरी दिने तालिका निर्धारण गरिएको थियो । ती उजुरीहरुमाथि छानबिन गरी आज बेलुका नामावली प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार उजुरी पुष्टि भए उम्मेदवारी स्वतः रद्द हुनेछ ।
आयोगले आज प्रकाशन गर्ने नामावलीहरुमध्ये कुनै उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने मन भए भोलि बिहान १० बजेदेखि १ बजेसम्मको समयमा फिर्ता लिन सकिने छ । त्यसपछि भोलि दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रकाशित भएको बन्दसूचीको सूचनामा असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरूपमा प्रकाशन गर्ने कार्यक्रम छ ।





प्रतिकृया दिनुहोस्