May 5, 2026, Tuesday
२०८३ बैशाख २२

नेपाल भ्रमणमा रहेका चिनियाँ नेता ली झान्सु आज उच्चस्तरीय भेटघाटमा व्यस्त हुने

काठमाडौं : नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् ।

चार दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् । उनले आजै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेनासँग बिहान ९ बजे भेटवार्ताको तालिका छ । यस्तै, उनले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पनि सङ्घीय संसद् भवनमै भेट्ने कार्यक्रम तय भएको छ।

उनले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग शिष्टाचार भेट गर्नेछन् ।

यसअघि हिजो उनले सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए । वार्तापछि सभामुख सापकोटाले लीको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए ।

अध्यक्ष लीको नेतृत्वमा आएको ६ जना चिनियाँ उच्चअधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार फर्कने कार्यक्रम रहेको छ।

मंसिर ४ मा चुनाव आउनुअघि दुई कम्युनिस्ट पार्टीसँग हुन लागेको भेटवार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।