May 5, 2026, Tuesday
२०८३ बैशाख २२

विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्न प्रधानमन्त्री देउवालाई जनसम्पर्क समितिको आग्रह

काठमाण्डौ : स्थानिय तह निर्वाचनमा मतदान गर्न नपाएपछी नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई संयुक्त रुपमा भेटेका छन् । सर्वोच्च अदालतले मताधिकारको व्यवस्था गर्न आदेश दिएपनि मतदान प्रक्रियामा सहभागी हुन नपाएपछी विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरुले प्रधानमन्त्री देउवालाई संयुक्त रुपमा भेटेका हुन्।

नेपाली जनसम्पर्क समितिका सभापतिहरुले प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति देउवालाई विदेशमा रहेका नेपाली नागरिकलाई आगामी प्रदेश र संघीय संसद्को निर्वाचनबाट मतदान प्रक्रियामा सहभागी गराउन अनुरोध गरेका छन् ।

नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति एवं नेपाली कांग्रेसका निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको नेतृत्वमा गएको प्रतिनिधि टोलीले प्रधानमन्त्री देउबालाई आगामी निर्वाचनबाटै सम्बन्धित देशमा रहेका राजदूतावास वा महावाणिज्यदूतावासमार्फत मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गर्न प्रस्ताव गर्दै ज्ञापन पत्र समेत बुझाएको नेपाली जनसम्पर्क समिति, भारतका कार्यवाहक सभापति खडक सिह वमले बताए।

प्रतिनिधि टोलीका नेता विष्टले दिएको जानकारी अनुसार समितिको संयुक्त ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्रीले आफ्नो पार्टी र सरकार आफ्ना सबै नागरिकलाई मताधिकारको सुनिश्चितता गर्न सधैं प्रयासरत रहेको भन्दै सरकारले विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको सुनिश्चितता दिलाउन यथाशीघ्र प्रक्रिया अघि बढाउने विश्वास दिलाएका छन्।

विदेशमा बसेर पनि तपाईंहरुले मुलुकको लोकतन्त्र, शान्ति, आर्थिक विकास र सम्मृद्धिका लागि निरन्तर योगदान गर्नु भएको छ। तपाईंहरुको अधिकारको सुनिश्चितताका लागि नेपाली कांग्रेस र वर्तमान सरकार सधैं प्रतिवद्ध छ र सर्वोच्चले पनि तपाईंहरुलाई मताधिकारको व्यवस्था गर्न आदेश दिइसकेको स्थिति छ, त्यसैले यस बारे हामी तत्काल के गर्न सक्छौं, त्यसका लागि सरकार लाग्नेछ’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै नेता विष्टले जानकारी दिए ।

ज्ञापन पत्रमा हालैको स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न र नेपाली कांग्रेसलाई पहिलो दल बनाउन सरकार प्रमूख र पार्टी प्रमूखका रुपमा देउबाले गरेको नेतृत्वदायी भूमिकाको सह्राहना समेत गरिएको छ।

प्रधानमन्त्रीलाई भेट्नका लागि नेपाली जनसम्पर्क समिति, भारतका सभापति एवं नेपाली कांग्रेसका निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे, समितिका युएईका सभापति भुवानीप्रसाद तिमिल्सिना, साउदी अरबका सभापति तुसङ बबहादुर थापा (अर्जुन), मलेसियाका सभापति चोलाकान्त पंगेनीसहित दक्षिण कोरियाकी निवर्तमान सभापति आस्थाबिन्दू मल्ल र समितिका साउदी अरबका निवर्तमान उपसभापति नमराज लामिछाने, जनसम्पर्क समिति भारतका कार्यवाहक सभापति खडक वम लगायत बालुवाटार पुगेका थिए।