April 18, 2026, Saturday
२०८३ बैशाख ५

‘पार्टीको जिम्मेवारीबाट जित नहुने देखेपछि विवेकशील साझा पार्टीले स्वतन्त्र उम्मेदवार खडा गर्‍यो’

धनगढी : विवेकशील साझा पार्टीले पार्टीको जिम्मेवारीबाट चुनाव जित्न नसकिने भएपछि स्वतन्त्र उम्मेदवार खडा गरेको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विवेकशील साझापार्टीले कतिपय ठाउँमा उम्मेदवारी दिएको छ भने कतिपय ठाउँमा पार्टीको भूमिकाबाट राजिनामा दिन लगाएर स्वतन्त्र उम्मेदवार खडा गरेको हो ।

देशैभर पाटीमा रहेर चुनाव जित्न नसकिने भएपछि स्वतन्त्र उम्मेदवारलाई विवेकशील साझापार्टीले समर्थन गरेको हो । विवकशील साझापार्टी केन्द्रिय कार्यालयका कार्यालय सचिव दिपक उप्रेतीले पार्टीको जिम्मेवारीबाट चुनाव जित्ने नदेखिएपछि कतिपय ठाउँमा राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

स्वतन्त्ररुपमा खडा गरिएका उम्मेदवारलाई विवेकशील साझापार्टीको समर्थन रहेको छ सचिव उप्रेतीले भने, ‘ धनगढी उपमहानगर पालिकामा विवेकशील साझापार्टीका प्रदेश संयोजक गोपाल हमालजीले राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका छन् । सुर्खेतमा पनि स्वतन्त्र उम्मेदवार खडा गरिएको उनले बताए ।

कतिपय ठाउँमा पार्टीको उम्मेदवार बनाएका छौं कातिपय ठाउँमा जिम्मेवारीबाट राजीनामा दिएका स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको कार्यालय सचिव उप्रेतीले भने,‘ हामी संग नजिक भएर काम गरेका साथीहरुलाई समर्थन गर्ने योजना छ ।’

धनगढी उप–महानगरपालिकामा गोपाल हमाललाई विवेकशील साझापार्टीले समर्थन रहेको छ । पार्टीले विज्ञप्ती मार्फत गोपाल हमाललाई समर्थन रहेको बताएको छ । पार्टी उम्मेदवार बनाउदा जित हात नपर्ने देखेपछि धनगढीमा ३ जनालाई पार्टीबाट राजिनामा दिन लगाएर स्वतन्त्र उम्मेदवार बनाएको छ । सुदूरपश्चिम प्रदेशमा पात्रै विवेकशील साझा पार्टी संग जोडिएका एक दर्जन बढीले स्वतन्त्रमा उम्मेदवारी दिएका छन् ।

विगतको स्थानीयतह निर्वाचन, प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा अपेक्षाकृत नतिजा ल्याउन नसकेका कारण विवेकशील साझापार्टीले पार्टी जिम्मेवारीबाट राजीनामा दिन लगाएर स्वतन्त्र उम्मेदवार खडा गरेको हुन सक्ने राजनितिक विश्लेषकहरु बताउँछन् ।

पार्टीको संगठन कमजोर भएकाले स्वतन्त्र उम्मेदवार बनाएर जिताउने र तिनीहरुलाई पुनः पार्टीमा प्रवेश गराएर पार्टीको शाख जोगाउने रणनिति विवेकशील साझापार्टीको हुन सक्ने राजनितिक विश्लेषक अरुण अवस्थीले बताए ।