May 5, 2026, Tuesday
२०८३ बैशाख २२

प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवाको यो भ्रमण पाँचौ पटक प्रधानमन्त्री भएपछिको पहिलो औपचारिक भ्रमण हो ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । स्वदेश फर्कनुअघि प्रधानमन्त्रीले भारतको वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहनै भएका छन् । भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मीगरी करिब ५० जना सहभागी छन् ।

यस्तो छ भ्रमण तालिका :

भ्रमण कार्यक्रम अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउसो २  :  ५० बजे प्रधानमन्त्री देउवा भारतको नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् ।

शुक्रबार दिउँसो ४  : ३० बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले होटल आइटीसीमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । शुक्रबारको कार्यक्रम यही अन्त हुनेछ ।

शनिबार स्थानीय समय अनुसार बिहान १०  : ४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । त्यसपछि सोही दिन ११  : १० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।

मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२  : १५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयुक्त विज्ञप्ति जारी गरिनेछ ।

शनिबार नै दिउँसो ४  : ३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।

प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने कार्यक्रम रहेको छ । वाराणासीबाट पुन  :  नयाँ दिल्ली आई उनी त्यहाँबाट ४  : १५ बजे स्वदेश फर्कनेछन् ।