April 30, 2026, Thursday
२०८३ बैशाख १८

तीन जना डीआईजी एआईजीमा बढुवा, थपिए आईजीपीका प्रतिस्पर्धी

काठमाडौं : नेपाल प्रहरीका तीनजना डीआईजीहरू एआईजीमा बढुवा भएका छन् । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाईअतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको हो ।

गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्यसचिव रहेको बढुवा समितिले चैत १ मा डीआईजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा सिफारिस गरेको थियो ।

उनीहरुको बढुवाका लागि भएको सिफारिसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेको थियो । वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा कनिष्ठ रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको भन्दै चैत १३ तीन डीआईजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले लोक सेवा आयोगको ‘उजुरी सुन्ने’ समितिमा निवेदन दिएका थिए ।

आयोगले बढुवा समितिको निर्णय सदर गरेपछि सरकारलाई एआईजी बढुवा गर्ने बाटो खुलेको थियो । यसअघि, नेपाल प्रहरीमा जनपदतर्फ एआईजीको संख्या पाँच थियो । तीन थपिएसँगै एआईजीको संख्या आठ पुगेको छ ।

एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन् । बढुवा भएका पन्त आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याची हुन् । उनी आईजीपीसँगै अवकाशमा जानेछन् । उनीबाहेक सिंह र धानुक आईजीपीका वैकल्पिक हुन् । उनका ब्याची विश्वराज पोखरेल र सहकुल थापा हाल एआईजी छन् ।

आईजीपी क्षेत्रीले ०७९ वैशाख १९ गते अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै उनका ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीसँगै अरू डीआईजीहरूले पनि अवकाश पाउनेछन् ।

आईजीपीका ब्याची एआईजीहरू अवकाशमा जाने भएपछि प्रहरीको भावी नेतृत्वका लागि एआईजीहरू विश्वराज पोखरेल, सहकुल थापासँगै अब धीरजप्रताप सिंह र रवीन्द्र धानुकबीच प्रतिस्पर्धा हुनेछ ।

प्रहरीमा नयाँ बन्ने आईजीपीले नै आउँदो निर्वाचनको कमान्ड गर्ने अवसर प्राप्त गर्नेछन् । सरकारले एआईजीमध्येबाट आईजीपी नियुक्ति गर्ने गर्छ । यस्तोमा प्रधानमन्त्री र गृहमन्त्रीले रुचाएको व्यक्ति आईजीपी बन्ने सम्भावना बढी रहन्छ ।