April 19, 2026, Sunday
२०८३ बैशाख ६

कांग्रेस बैठक : जिल्लामा खटिएका नेताको ब्रिफिङ- ‘बहुमत सीटमा कांग्रेसले जित्छ’

काठमाडौँ : नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा चुनावी अभियानअन्तर्गत ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका नेताहरूले रिपोर्टिङ गर्नेक्रम सकिएको छ ।

दोस्रो दिन आइतबार करिब पाँच घण्टासम्म चलेको बैठकमा चुनावी अभियानमा खटिएका केन्द्रीय सदस्य र त्यसक्रममा विभिन्न जिल्लामा पुगेका अन्य नेताहरू गरी जम्मा ५४ जना नेताले धारणा राखेका छन् ।

चुनावी अभियानका क्रममा केन्द्रीय प्रतिनिधिहरूले ७५३ वटै स्थानीय तहमा पुगेर त्यहाँको वस्तुगत अवस्थाबारे पाएको जानकारी केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गरेका छन् । प्रदेश सभापति, अभियानमा खटिएका केन्द्रीय सदस्य र अन्य नेताहरूले बोल्नेक्रम सकिँदासम्मको रिपोर्टिङको आधारमा कांग्रेसले स्थानीय चुनावमा बहुमत सीटमा जित हासिल गर्ने निष्कर्ष निकालेको छ ।

‘देशभरिको अवस्थाबारे लगभग तथ्यांकीय रुपमै हामीले रिपोर्टिङ पाएका छौँ, विगतभन्दा हाम्रो संगठन मजबुद बनेको छ, त्यसमाथि कम्युनिष्टहरू फुटेका छन्, पार्टीप्रति मतदाताको आकर्षण पनि बढेको छ,’ बैठकमा भएको रिपोर्टिङबारे सुनाउँदै एक पदाधिकारीले इकान्तिपुरसँग भने, ‘हामीले एक्लै चुनाव लडेपनि बहुमत सीटमा जित्छौँ, गठबन्धन गर्दा त्यो अझै बढ्छ भन्ने हाम्रो ठहर हो ।’

ती नेताले कांग्रेसले अझै सीट संख्या बढाउन र आफ्नो जितलाई थप सुनिश्चित गर्न अन्य दलसँग गठबन्धन गर्ने निष्कर्षमा पुगेको बताए । ‘यहाँसम्मको छलफलले कांग्रेसले स्थानीय चुनावमा गठबन्धन गर्ने निश्चित भएको अवस्थो हो, हामी एक्लै पनि बहुमत सीट जित्छौँ, थप सीट पाउन र जित सुनिश्चित गर्न अन्य दलसँगको गठबन्धनको कुरालाई समेत बैठक सकारात्मकरुपमा लिएको छ,’ उनले भने ।

बैठकमा केन्द्रीय सदस्य एनपी सावदले कांग्रेस एक्लै लडेपनि बहुमत सीट जित्ने, तर गठबन्धन गर्दा छ सयभन्दा बढी सीटमा जित्ने दाबी प्रस्तुत गरेका थिए । ०७४ को निर्वाचनमा एमालेले २९४ स्थानीय तहमा प्रमुख जितेको थियो भने कांग्रेसले २६६, नेकपा माओवादी केन्द्रले १०६, संघीय समाजवादीले ३४, राजपाले २५ र लोकतान्त्रिक फोरमले ९ स्थानीय तहमा प्रमुख जितेको थियो । केन्द्रीय सदस्य सावदले देशभर इमान्दाररुपमा गठबन्धन गर्न सके एमालेलाई एक सय सीटमा खुम्च्याउन सकिने बताए । ‘एमाले एक्ला–एक्लै लड्दा दुई सय सीट जित्ने आंकलन गरिरहेको छ, यदि हामीले गठबन्धन गरेर लड्यौँ भने एमालेलाई एक सय सीटमा खुम्च्याउन सकिन्छ,’ सावदले भनेका थिए ।

कुन दलसँग कसरी गठबन्धन गर्ने भन्नेबारे भने टुंगिएको छैन । नेताहरूले गठबन्धनको मोडालिटी सोमबार मात्रै टुंगो लाग्ने बताएका छन् । प्रवक्ता प्रकाशसरण महतले सोमबारसम्म बैठक सकिने र बैठकले कहाँ, कसरी गठबन्धन गर्ने भन्ने मोडालिटी तय गर्ने बताए ।

‘जिल्लामा खटिएका प्रतिनिधिहरूको रिपोर्टिङ सकिएको छ । अहिलेसम्मको छलफल पूर्णतः स्थानीय चुनावमा कसरी बहुमत सीटमा विजयी हुने ? कसरी पार्टीलाई विगतभन्दा बलियो बनाउने ? भन्नेमै केन्द्रीत रहृयो,’ उनले भने, ‘हामी देशभर जित्नका लागि आवश्यकताको सिद्धान्तका आधारमा गठबन्धन गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौँ । भोलि (सोमबार)सम्ममा त्यो गठबन्धनको मोडालिटी के हुने भन्ने निष्कर्षमा पुग्छौँ ।’

उनले बैठकमा धारणा राखेका अधिकांशले कुनै न कुनैरुपमा गठबन्धन गरेर अघि बढ्दा पार्टीका जित सुनिश्चित हुने अवस्था रहेको बताएको जानकारी दिए ।

‘स्थानीय चुनावमा कसरी जाने भन्नेबारे साथीहरूले आ–आफ्नो जिल्लाको अनुभवका आधारमा सुझाव राख्नुभएको छ । अधिकांश साथीहरूले कुनै न कुनै रुपमा गठबन्धनको आवश्यकता रहेको भन्नुभयो,’ उनले भने, ‘त्यसैले कांग्रेसले बढीभन्दा बढी सीटमा जित हासिल गर्ने गरी गठबन्धन गर्छ, त्यो पूर्णतः आवश्यकताको सिद्धान्तमा आधारित हुन्छ । अब अरु नेताहरू र पदाधिकारीहरूसमेतको धारणा बुझेपछि केन्द्रीय समितिले कुन मोडेलबाट गठबन्धन गर्दा पार्टीलाई बढी लाभ हुन्छ, त्यही मोडालिटी अपनाउँछ ।’

केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरूले बोल्ने पालो आएको छैन । शीर्ष केन्द्रीय सदस्यहरूले समेत धारणा राखेका छैनन् । आइतबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा लगायत नेताहरू पूर्ण समय बसेनन् ।

वरिष्ठ नेता पौडेलले बैठकले स्थानीय चुनावमा गठबन्धन गर्नेबारे सैद्धान्तिक निर्णय लिने बताए । बैठकबाट बाहिरिने क्रममा नेता पौडेलले संविधान र लोकतन्त्रको रक्षार्थ निर्माण भएको वर्तमान सत्ता गठबन्धन जोगाएर अघि बढ्ने गरी चुनावी तालमेल गरेर अघि बढ्ने बताएका थिए ।

‘गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय लिनेछ । कुन स्थानीय तह कसले लिने भन्ने त पछि निर्णय गर्ने कुरा हो । चुनावी तालमेल गरेर गठबन्धन बचाएर लानुपर्ने आवश्यकता छ,’ वरिष्ठ नेता पौडेलले भनेका थिए, ‘धेरै केन्द्रीय सदस्यहरू चुनावी तालमेलको पक्षमा देखिएका छन् । कहाँ हामीले लिने, कहाँ कसलाई छोड्ने भन्ने पछि निर्णय हुने कुरा हो ।’

नेता शेखर कोइरालाले बैठकमा धारणा राख्ने पालो पाएका छैनन् । तर, उनले सार्वजनिकरुपमा गठबन्धन गर्नु कांग्रेसका लागि सैद्धान्तिकरुपमा उपयुक्त नभएको तर्क गर्दै आएका छन् । केन्द्रीय समितिमा पनि गुटगतरुपमा नेताहरूले विभाजित मत राखेका छन् ।

‘शेरबहादुरजी र शेखरजीले के–के धारणा राख्नुहुन्छ ? भनेर सबैलाई थाहा छ । बैठकमा बोल्ने नेताहरू जो–जता नजिक हुनुहुन्छ, त्यहीअनुसार धारणा आइरहेको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘शेखरजीसँग निकट साथीहरूले पनि सैद्धान्तिकरुपमा मात्रै गठबन्धन गर्नु उचित होइन भन्नुभएको छ । गठबन्धन गर्ने निर्णय गर्दा त्यस्तो निर्णयको अधिकार तल्ला तहलाई दिनुपर्ने उहाँहरूको माग छ ।’

केन्द्रीय सदस्य एनपी सावदले भने हाल अधिकांश स्थानीय तहमा नेकपा एमालेको प्रशासनिक सेटअप भएकाले कांग्रेसका लागि गठबन्धन उपयुक्त हुने बताए । ‘केन्द्रीय सरकार एउटा गठबन्धनले चलेको छ । तर, स्थानीय तहमा एमालेको सेटअप भत्किएको छैन,’ आइतबारको बैठकमा बोलेको भन्दै नेता सावदले इकान्तिपुरसँग भने, ‘देशभर कांग्रेसका साथीहरू उत्साहित हुनुहुन्छ, त्यसैले गठबन्धन आवश्यक छैन भन्ने साथीहरूको कुरा पनि जायज नै हो । तर, स्थानीय तहमा एमालेको सेटअप भत्काएर नतिजा आफ्नो पक्षमा पार्न हाम्रो लागि गठबन्धन गर्नु नै सुरक्षित बाटो हो ।’

उनले एमालेले आफूले जितेका स्थानीय तहमा त्यहाँको स्रोत साधनको अधिकतर दुरुपयोग गरिरहेको बताए । ‘एमालेका जनप्रतिनिधि जहाँ छन्, त्यहाँ अधिकतमरुपमा स्रोतसाधनको दुरुपयोग भएको छ, भइरहेको छ, त्यसकारण अहिले गठबन्धनभित्रै रहेका दलहरूसँग सहकार्य गरेर एकअर्काको भोट ट्रान्सफर गर्‍यो भने त्यो हाम्रोलागि लाभदायी हुन्छ,’ उनले भने ।

बैठकमा केन्द्रीय सदस्य सीता गुरुङले पार्टीका तल्ला तहका कार्यसमिति र कार्यकर्ताको भावनाबमोजिम अघि बढ्नु उपयुक्त हुने बताएकी थिइन् । ‘ठाउँअनुसार संगठन कमजोर र बलियो हुने कुरा एउटा भयो । तर, समग्रमा हाम्रो संगठन मजबुद बनेको छ, मतदाता थपिएका छन्,’ गुरुङले इकान्तिपुरसँग भनिन्, ‘एक्ला–एक्लै लड्दा हामीलाई बहुमत सीट जित्न कुनै गाह्रो छैन । तर, हामी एक्लै लड्ने भन्दा अरु कम्युनिष्टहरू सबै एकजुट हुँदैनन् भन्ने छैन । त्यसैले आवश्यकताअनुसार अघि बढ्नुपर्छ भन्ने धेरै नेताहरूको मत छ ।’

अर्का केन्द्रीय सदस्य प्रतिमा गौतमले भने पटक–पटक गठबन्धन गर्दा पार्टीका मतदातामा रहेको कांग्रेसको वंशाणुगत गुण नै नष्ट हुने भएकाले गठबन्धन गर्न नहुने बताएकी थिइन् ।

‘कांग्रेस आफैँ बलियो शक्तिकोरुपमा स्थापित हुनुपर्ने आवश्यकता छ । हाम्रो शक्ति परीक्षणको मौका पनि हो, कसैको हातगोडा लिएर अघि बढ्दा कांग्रेस कमजोर भएको सन्देश जान्छ,’ बैठकमा उनले भनेकी थिइन्, ‘पार्टी तरुण, विद्यार्थी भ्रातृ संस्थालाई पूर्णता दिएर पार्टीलाई शक्ति आर्जनमा केन्द्रीत गरिनुपर्छ ।’ नेतृ गौतमले पार्टीको आन्तरिक एकतालाई मजबुद पार्नुपर्ने बताएकी थिइन् ।

आइतबारको बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, केन्द्रीय सदस्यहरू दिपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, देवेन्द्रराज काडेल, डिला संग्रौला, सरिता प्रसाई, अमृत अर्याल, डा. गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी, ध्रुव वाग्ले र महेन्द्रकुमार रायले धारणा राखेका छन् ।

त्यस्तै, केन्द्रीय सदस्यहरू गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, राजीव कोइराला, अब्दुल रज्जाक, चन्द्रबहादुर के.सी., उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, जीतजंग बस्नेत, राजीव ढुंगाना, राजेन्द्रकुमार के.सी., अर्जुनजंगबहादुर सिंह, राजीवबिक्रम शाह, डा. चन्द्रमोहन यादव र अञ्जनी श्रेष्ठले धारणा राखेका छन् ।

केन्द्रीय सदस्यहरू मैकुलाल वाल्मिकी, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, रंगमती शाही, मञ्जुकुमारी यादव, गुरु बराल, जावेदा खातुन जागा, नागिना यादव, नानु बास्तोला, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल के.सी., सुशीला ढकाल (आचार्य), रुपा वि.क., विद्यादेवी तिमिल्सीना र जीवन रानाले समेत आइतबारको बैठकमा धारणा राखेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार अर्को बैठक सोमबार बिहान साढे ११ बजे बस्नेछ । कान्तिपुरबाट