विदेशमन्त्री यीसँग प्रचण्डले भने- बीआरआई परियोजनाका कामलाई अघि बढाउनुपर्छ

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ।
नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण मानिएका ती आयोजना समयमा अगाडि बढ्दा त्यसले सकारात्मक प्रभाव पर्ने भन्दै माओवादीले त्यसका लागि पहल गरिदिन चिनियाँ विदेशमन्त्री वाङ यीमार्फत चीन सरकारलाई आग्रह गरेको हो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मेरियट होटलमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएको भेटवार्तामा भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई अघि बढाउन आग्रह गरेका छन्।
माओवादी नेता शक्ति बस्नेतले कोरोना महामारीका कारण लामो समयदेखि नियमित हुन नसकेको तातोपानी र रसुवागढी नाकालाई सहज रुपमा सञ्चालन हुने वातावरण बनाइदिन आफूहरुले चिनियाँ विदेशमन्त्रीको ध्यानकर्षण गराएको जानकारी दिए।
सो अवसरमा नेपाल चीन सम्बन्धमा विविध आयामका बारेमा कुराकानी भएको थियो। माओवादी अध्यक्ष प्रचण्डले दुई देश बीचको मैत्री सम्बन्धका बारेमा चर्चा गर्दै नेपालको भूमिमा चीन विरोधि गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्याएका थिए।
‘नेपाल सधैँ एक चीन नीतिको पक्षमा अडिग रहेको र उहाँको भूमि कुनै पनि देशविरुद्ध प्रयोग हुन दिँदैनौँ,’ उनले भने। नेपालको आर्थिक विकाससँग जोडिएको बिआरआई र चीनका तर्फबाट प्रतिबद्धता जनाइएका परियोजना अगाडि बढ्छ भन्नेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो।
नेपालको चीनतर्फ बढ्दो व्यापार घाटालाई कम गर्न पनि सहयोग गरिदिन माओवादीका तर्फबाट चिनियाँ विदेशमन्त्रीलाई आग्रह गरिएको थियो।
कोरोनाका कारण नाका सहज नहुँदा व्यापार घाटा थप चुलिएको सन्दर्भमा आवश्यक नीतिगत एवं प्राविधिक रुपमा देखिएका समस्या समाधान गर्न आग्रह गरिएको नेता बस्नेतले जानकारी दिए।
कोरोना कालमा चीन सरकारका तर्फबाट नेपालले प्राप्त गरेको सहयोगप्रति माओवादी नेतृत्वले चीन सरकारलाई विशेष धन्यवाद दिएको थियो।
माओवादी शीर्ष नेतृत्वको आग्रहलाई सकारात्मक रुपमा लिँदै चिनियाँ विदेशमन्त्रीले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनले नजिकको छिमेकी र परम्परागत मैत्री सम्बन्ध भएकाले पनि नेपालको चासो र विकासप्रतिको तीव्र इच्छालाई चीन सरकारले सदैव समर्थन गर्दै सहयोग गरेको र त्यो निरन्तर रहने बताए।
भेटवार्तामा माओवादीका नेता नारायणकाजी श्रेष्ठ, नेता बस्नेत, अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्ल लगायतको सहभागिता थियो।
नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा उनी नेतृत्वको प्रतिनिधिमण्डल नेपाल आएको हो । शनिबार समकक्षी खड्कासँग उनको औपचारिक भेटवार्ता भएको थियो । प्रतिनिधिमण्डलसहितको उक्त भेटवार्तापछि नेपाल र चीनबीच विभिन्न नौ समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।रासस





प्रतिकृया दिनुहोस्