चीनका विदेशमन्त्री आज काठमाडौं आइपुग्ने, औपचारिक भेटघाट भोलिदेखि

काठमाडौं : भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आइपुग्दैछन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउन लागेका हुन ।
भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी अहिले ३ बजे नेपाल आइपुग्दैछन् । यसअघि साँझ ५ बजे आउने भनिए पनि उनको उडान दुई घन्टा छिटो भएको छ ।
विदेशमन्त्री वाङको भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वाङको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको छ । नेपाल भ्रमणका क्रममा आवश्यक सुरक्षा व्यवस्थापनका विषयमा गृह मन्त्रालयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले बताए ।
विदेशमन्त्री वाङको बासस्थानदेखि उनको सवार सडक, चोक तथा औपचारिक र अनौपचारिक कार्यक्रम स्थलहरूमा विशेष निगरानीसहितको सुरक्षा सतर्कता बढाउने तयारी गरिएको छ । बौद्ध, स्वयम्भू र हात्तीसारलगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिने वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै गर्दैछन् । शनिबार विहान नेपालका समकक्षी डा. नारायण खड्कासँग उनले भेटघाट गर्नेछन् । त्यसअघि उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने छन् ।
शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने तय भएको छ । वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि साँझ चीन फर्किने कार्यक्रम तय भएको छ ।





प्रतिकृया दिनुहोस्