काँग्रेस सुदूरपश्चिम प्रदेशको निर्वाचन कार्यतालिका हेरफेर, नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास जारी

धनगढी, मङ्सिर १७ (ई-रैवार)
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको मनोनयन दर्ता कार्यतालिका फेरिएको छ । प्रथम सुदूरपश्चिम प्रदेश अधिबेशनको सर्ब सम्वतको प्रयासका लागि केही समय परिवर्तन गरिएको हो ।
सभापतिसहितका पदाधिकारीहरूमा सर्वसम्मतिको प्रयास भइरहेकाले शुक्रबार बिहान ८ बजेका लागि तय भएको मनोनयन दर्तालगायतको निर्वाचन कार्यतालिका हेरफेर गरिएको प्रचारप्रचार समितिका प्रमुख नृपबहादुर सुनारले जानकारी दिएका हुन ।
प्रचारप्रचार समितिका प्रमुख सुनारका अनुसार कार्यतालिका हेरफेर गर्दै मनोनयन पत्र दर्ताको समय दिउँसो दुईदेखि चार बजेसम्म, मनोनयन पत्रमाथि दाबी विरोध गर्ने समय साढे ४ देखि पाँच बजेसम्म, उम्मेदवारको नाम प्रकाशन गर्ने समय साढे ५ बजेसम्म, उम्मेदवारी फिर्ता लिने समय साढे ५ देखि साढे ६ बजेसम्म र साढे ७ बजे अन्तिम नामावली प्रकाशनको समय तय गरिएको छ । मतदान शनिबार बिहान ८ बजेदेखि गर्ने कार्यसूची छ ।
सुनारले आकांक्षीहरूकाबीचमा सर्वसम्मतिको प्रयासका लागि छलफल भइरहेकाले निर्वाचन कार्यतालिका परिवर्तन गरिएको जनाए । काँग्रेस सुदूरपश्चिमको सभापतिका लागि अहिले करिब एक दर्जन नेताहरू आकांक्षी देखिएका छन् ।
प्रदेश कार्य समितिका लागि सभापती १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ३ (१ महिला सहित) र प्रदेश सदस्य ५१ जना रहने छन ।
पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर, कैलाली जिल्ला सभापति नरनारायण शाह, पूर्वपरराष्ट्र राज्यमन्त्री अर्जुनजंगबहादुर सिंह, पूर्वसञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह, नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष पुष्प शाही, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्दबहादुर बोहरा, कैलालीका तत्कालीन जिल्ला विकास समितिका सभापति नारायण मिश्र, कञ्चनपुरका नेता गोपाल गुरुङलगायतका नेताहरु सभापतिको दौडमा देखिएका छन् ।
बलायर, शाह, सिंह, शाह, शाही र बोहरा, सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । भने मिश्र र गुरुङ संस्थापन इतर पक्ष रामचन्द्र पौेडेल समुहका हुन। उनीहरूमध्ये पूर्वपूर्वाधार तथा यातायातमन्त्री बलायरलाई सर्वसम्मत रुपमा सभापति बनाउने कसरत कांग्रेसभित्र चलिरहेको छ ।





प्रतिकृया दिनुहोस्