कांग्रेस प्रदेश अधिवेशन : सभापतिका लागि ५ जनाको उम्मेदवारी

कैलाली, मंसिर १३ (ई-रैवार)
नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि पूर्वमन्त्रीदेखि प्रदेश सभा सदस्यका उम्मेदवारसम्मले उम्मेदवारी घोषणा गरेका छन्। मंसिर १६ र १७ गते धनगढीमा आयोजना हुने प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
सुदूरपश्चिम प्रदेश सभापतिका लागि नरनारायण शाह ‘मनु’, अर्जुन जंग बहादुर सिंह, गोविन्दबहादुर शाह, पुष्पकुमार शाही र हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारी घोषणा गर्ने नरनारायण शाह कैलालीका जिल्ला सभापति हुन्। उनीसँग दुई कार्यकाल जिल्ला सभापति भएर कैलाली कांग्रेस चलाएको अनुभव छ। बझाङका अर्जुन जंगबहादुर सिंह पूर्व परराष्ट्र राज्यमन्त्रीका साथै कोरियाका लागि पूर्व नेपाली राजदूत भइसकेका व्यक्ति हुन्। अछामबाट पूर्व सञ्चार राज्यमन्त्री समेत भइसकेका गोविन्दबहादुर शाहको पनि उम्मेदवारी रहेको छ। यस्तै डोटीबाट पुष्पकुमार शाहीले पनि उम्मेदवारी घोषणा गरेका छन्। शाही नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत हुन्।
कैलाली लम्कीका हिमबहादुर रावलले पनि उम्मेदवारी घोषणा गरेका छन्। रावल प्रदेश सभा निर्वाचनमा प्रदेश सभाका उम्मेदवार भएका थिए।
प्रदेश सभापतिका लागि देखिएका सबै उम्मेदवार मध्ये बलियो उम्मेदवारका रुपमा अहिलेसम्म कैलालीका वर्तमान सभापति नरनारायण शाह देखिएका छन्। एक जना राजनीतिक विश्लेषकका अनुसार प्रदेश अधिवेशनका लागि ९ सय ५५ जना मतदाता सहभागी हुने छन्। ती सहभागी मतदातामध्ये कैलालीमा मात्रै ३ सय ११ जना प्रतिनिधि छन्। कैलालीका निर्वाचित प्रतिनिधिमध्ये ८५ प्रतिशत बढी प्रतिनिधि शाह पक्षकै छन्।
प्रदेश अधिवेशनको तयारी तीब्र
सुदूरपश्चिम प्रदेशको प्रदेश अधिवेशनका लागि आयोजक नेपाली कांग्रेस कैलाली शाखाले तयारी तीव्र थालेको छ। धनगढीको ओम प्यालेसमा हुने अधिवेशनका लागि प्रतिनिधिका लागि आवाश र खानपिनको बन्दोवस्त गरिसकिएको १४ औँ महाधिवेशन प्रचार प्रसार समितिका कैलाली संयोजक नृप सुनारले बताए। उनले भने, ‘धनगढीमा सुदूरपश्चिमभरीकै ९ सय ५५ जना प्रतिनिधिमाझ प्रदेश अधिवेशन हुनेछ, त्यसका लागि तयारी तीव्र थालिएको छ ।’
सुदूरपश्चिम प्रदेशका लागि सभापति १, उप सभापतिमा २, महामन्त्रीमा २, सहमहामन्त्रीमा एक महिलासहित ३ जना र ५१ जना सदस्यसहितको छनोट हुनेछ। नागरिक दैनिकबाट





प्रतिकृया दिनुहोस्