April 24, 2026, Friday
२०८३ बैशाख ११

सर्वोच्च अदालतको समस्या समाधान गर्न प्रधानमन्त्री देउवाले पहल गर्नुहुन्छ : नेपाल

धनगढी, मंसिर २ (ई-रैवार) 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको समस्या समाधान गर्न प्रधानमन्त्रीले पहल गर्ने बताएका छन् । नेता नेपालले आज धनगढीमा आफ्नो पार्टीको प्रदेश कार्यालय उद्घाटन कार्यक्रम पछि पत्रकारहरुसँग कुरा गर्दै सर्वोच्च अदालतमा देखिएको समस्या प्रधानमन्त्री शेरबहादुर देउवाले छिटो समाधान गर्न पहल गर्ने बताएका हुन् ।

सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले भने ‘हाम्रो पाँच दलको गठबन्धनको बैठक बसेर साझा धारणा बनाएर सर्वोच्च अदालतमा देखिएको समस्या छिटो भन्दा छिटो समाधान गर्ने निर्णय गरेको छ ।’

‘हाम्रो पाँच दलको बैठक बस्यो । बैठकले सर्वोच्च अदालतमा देखिएको समस्यालाई राम्रो वातावरणमा छिटो भन्दा छिटो समाधान हुनुपर्दछ, सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको छ,’ नेपालले भने, ‘यसका निम्ति प्रधानमन्त्रीज्यूले आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले पहल गर्नुहुन्छ ।’

पार्टी कार्यालय उद्घाटनका क्रममा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिमबाट फहराएको एकीकृत समाजवादीको झण्डा मेचीसम्म पुग्ने बताए । आफूले स्थापना गरेको नेकपा एमालेको पहिलो पार्टी कार्यालय पनि कञ्चनपुरमा स्थापना गरिएको स्मरण गर्दै नेपालले समाजवादीको कार्यालय स्थापनाको क्रम समेत सुदूरपश्चिमबाटै भएको जनाए ।

नेता नेपालले अहिले प्रदेश पार्टी कार्यालय भाडाको घरमा सञ्चालन भइरहेकोमा चाडै आफ्नै जग्गा खरिद गरेर भवन निर्माण हुनेमा विश्वस्त रहेको पनि बताए । धनगढीमा रहेको भाडाको भवनमा एकीकृत समाजवादीले प्रादेशिक र कैलाली जिल्ला पार्टी कार्यालय सञ्चालन गर्ने भएको छ । 

बुधबार सुदूरपश्चिम पुगेका नेपाल एकीकृत समाजवादी पार्टीले बिहीबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुँदैछन् ।